सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टीका सबै नौ जना सचिवालय सदस्यहरु उपस्थित छन् ।
बालुवाटारमा जारी नेकपाको केन्द्रीय सचिवालय बैठकमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर ओलीको सचिवालयबाट सार्वजनिक गरेको हो। ओली र दाहाल दुवैजना समान हैसियत र समान प्रकृतिका कुर्सीमा सँगसँगै बसेका हुन्।

पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको ठहर गर्दै प्रचण्डले अघिल्लो सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए।
ओलीले शुक्रबार आफू प्रधानमन्त्रीमा रहिरहने, पार्टी अध्यक्षको पूर्ण जिम्मेवारी सम्हाल्न प्रचण्डलाई प्रस्ताव गरेको पृष्ठभूमिमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर सार्वजनिक भएको हो। साथै पार्टीको स्थायी कमिटी बैठक डाक्ने बारेमा छलफल हुने जनाइएको छ ।
बैठकअघि प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेट
सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार दिउँसो शीतल निवास गएको सरकारी उच्चस्रोतले बतायो।
नेकपामा महत्वपूर्ण निर्णय हुनुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्दै आएका छन्।
राष्ट्रपतिलाई भेटेर आएपछि ओलीले आफूले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका नेता वामदेव गौतमलाई भेटेको बुझिएको छ।
वामदेव पुगे ओलीको कक्षमा
सचिवालय बैठक पर धकेलेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका नेता वामदेव गौतमसँग शनिबार छलफल गरेका छन्।
ओलीले नेता गौतमलाई बालुवाटार बोलाएर शनिबार अपराह्न छलफल गरिरहेको बुझिएको छ।
त्यसअघि बालुवाटारमै नेता गौतमसँग पार्टी महासचिव एवं ओली पक्षका विष्णु पौडेल, ईश्वर पाेखरेल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले छलफल गरेको नेकपाको एक स्रोतले बतायो।
उनीहरुसँग करिव एक घण्टा छलफल गरेपछि नेता गौतम प्रधानमन्त्री ओलीको कक्षतर्फ लागेको स्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले शनिबार ४ बजे निर्धारित बैठक साढे ५ बजेका लागि सरेको जानकारी सचिवालय सदस्यलाई दिएका थिए।