
जनै साँचो झुन्ड्याउने डोरो होइन।जनै त अध्यात्मको बाटो खुलाउने यज्ञोपवित हो। त्यसकारण तागाधारी वर्गले विधिपूर्वक जनै धारण गरेर समाजमा आफ्नो वर्चस्व कायम गर्नुहोस् र यो राष्ट्रलाई सत्मार्गतिर डोर्याउनु होस् ; मेरो शुभ कामना छ।जनै धारण गर्ने सव्य- अपसव्य अर्थात् सव्येन- अपसव्येन यी दुई पद्धति छन्। सामान्य अवस्थामा बायाँ काँधमा ग्रन्थी अड्याएर दाहिनेतिर फेरो छोडेर जनै लगाइन्छ।यसरी जनै लगाउनु सव्य अथवा सव्येन पद्धति हो।सव्य अथवा सव्येन पद्धति सुल्टो पद्धति हो तर मान्छे मरेर कृयामा बस्दा थलामा पिण्ड लडाउँदा दाहिने काँधमा ग्रन्थी अड्याएर वायाँतिर फेरो छोडेर जनै लगाइन्छ।यसरी दाहिने काँधमा ग्रन्थी अड्याएर वाँयातिर फेरो छोडेर जनै लगाउने पद्धति अपसव्य अथवा अपसव्येन पद्धति हो। अपसव्य अथवा अपसव्येन पद्धति उल्टो पद्धति हो। घलेक लगाउने महिलाहरुले बायाँ काँधमा गाँठो अड्याएर दाहिनेतिर फेरो छोडेर घलेक लगाउँछन् तर गुरुङको मान्छे मर्दा पज्यु( झाँकृ) ले दाहिने काँधमा गाँठो अड्याएर वायाँतिर फेरो छोडेर घलेक लगाउँछ।सव्य- अपसव्य भने जस्तै घलेक लगाउने पद्धतिलाई सुवेँ- विवेँ भनिन्छ।सुवेँ चाहिँ सव्य अथवा सुल्टो र विवेँ चाहिँ अपसव्य अथवा उल्टो पद्धति हो। यसैगरी गादो लगाउने पुरुषहरुले पनि पहिले वायाँतिरको काँधमा गाँठो अड्याई त्यसपछि दाहिने काँधमा गाँठो अड्याएर गादो लगाउँछन्।भोटखोलातिरका बक्खु लगाउने महिला र पुरुष दुवैले साधारण अवस्थामा दुइटै काँधलाई बक्खुले ढाकेर बक्खु लगाउँछन् तर पूजामा बस्दा, विवाहमा जन्ती जाँदा र कुनै राजकीय समारोहमा उपस्थित हुँदाको अवस्थामा बायाँ काँधलाई बक्खुले ढाकेर दाहिने काँधलाई खुला राख्दछन्।यो पनि एउटा सव्य अथवा विवेँ वा सुल्टो पद्धति हो। यसरी धारण गर्ने वस्तु पृथक पृथक भएतापनि धारण गर्ने विधि र पद्धति ता सबैको उही सव्य-अपसव्य, सुवेँ-विवेँ, सुल्टो र उल्टो एउटै छ।महिलाहरुले सारी लगाउँदा पनि बायाँ काँधमा सप्को हाल्छन् र वायाँतिरै सप्को हालेर खास्टो ओड्छन्।अचेल कुनै कुनै महिलाहरुले दाहिने काँधमा डोरो अड्याएर वायाँतिर फेरो छोडेर छड्के तिलरी लगाएको पनि देखिन्छ तर यो अशुभ हो।यसले महिलाको शौभाग्यमा हानी पुय्राउँछ।नेवार जातमा कोही जनै लाउने पनि छन् ।कोही जनै नलाउने पनि छन्। नेवारका जनै लाउने र जनै नलाउने दुवै थरीका पुरुषले जुनसुकै खालको पूजामा बस्दा पनि आफ्नो वायाँ काँधमा रुमाल राख्दछन् र जनै नलगाउने यजमानलाई सव्य-अपसव्य गर्दा बायाँ काँध र दाहिने काँधमा रुमाल सार्न लगाउँछ्न्। पूजाको अवसरमा नेवार महिलाहरुले खास्टोले बायाँ काँध ढाकेर दाहिने काँधलाई खुला छोड्दछन्।अघि राजकीय शासनकालमा कुनै व्यक्तिलाई ठूलो विभूषणबाट विभूषित गर्दा विभूषणको साथमा पट्टा पनि लगाइदिन्थ्यो।बायाँ काँधमा विभूषणको पट्टा अड्याएर दाहिनेतिर लट्काएर पट्टा लगाइदिन्थ्यो।अचेल नजानेर हो कि जानेर पनि अल्छी गरेर हो ? कसैलाई दोसल्ला ओडाएर सम्मान गर्न परेमा खास्टो ओडाए जस्तै पछाडीबाट दोसल्ला ओडाइदिन्छ्न्। अचेल दोसल्ला ज्यादै सस्तो भएको छ।जस्लाई पनि दोसल्ला ओडाइदिन्छन्।दोसल्ला ओडाएर सम्मान गर्नु ठूलो गौरवको कुरा हो।त्यसकारण अघि दोसल्ला ओडाउँदा दोसल्लालाई पट्याएर दोसल्लालाई बायाँ काँधमा चढाएर दोसल्लाको फेरोलाई छातिको समतलबाट दाहिनेतिर झारेर दाहिने कम्मरनेर गाँठो पारेर दोसल्ला अर्पण गरिन्थ्यो।अझै पनि नेपालका बौद्ध नेवारहरुमा यश प्रकारले दोसल्ला अर्पण गर्ने परम्परा विद्यमान छ।अघि अघि ठूला ठूला ब्राह्मण पण्डितहरुले उत्तरीय अङ्गवस्त्र धारण गर्दथे।कम्मरमा पटुका कस्दथे।उत्तरीय अङ्गवस्त्रलाई राम्ररी पट्याएर त्यसको पाटोलाई बायाँ काँध माथी चढाएर छातिको समतलबाट ल्याई त्यसको टुप्पालाई दाहिने कम्मरनेर पटुकामा घुसार्दथ्ये। त्यस बेला यस प्रकारको पोशाक ठूला ब्राह्मण पण्डितहरुको चिनारी थियो।अहिले नेपालमा जुन सुकै विषयको पनि नीति निर्धारण गर्ने, कुनै व्यक्ति वा संघ संस्थालाई काम अह्राउने र त्यसको रेख देख गर्ने सबै तागाधारी बाहुन-क्षेत्री नै छन् तर अहिले बाहुन- क्षेत्रीले जनै लाउन छोडे।यी बाहुन- क्षेत्रीहरु आफू ता बिग्रे बिग्रे , यिनले हाम्रा आदिकवि भानुभक्त आचार्यलाई पनि बिगार्दिए।जिन्दगी भरि सव्येन पद्धतिले जनै लगाएका र सव्येन पद्धतिले उत्तरीय अङ्गवस्त्र पहिरेका हाम्रा आदिकवि भानुभक्त आचार्यलाई अपसव्येन पद्धतिले उत्तरीय अङ्गवस्त्र पहिय्राएर वहाँको मानमर्दन गरिदिए।चाहे नेपालमा होस, चाहे विदेशमा जति पनि आदिकवि भानुभक्त आचार्यका प्रतिमा हुन् वा चित्र , सबैमा अपसव्य पद्धतिले उत्तरीय अङ्गवस्त्र पहिय्राएर विटुलो बनाइदिएको छ।हामीले अपसव्येन बनाइदिएका हाम्रा आदिकवि भानुभक्त आचार्यलाई अघि सारेर हामीले विश्वका सामुन्ने कसरी हाम्रो संस्कृतिको परिचय दिई रहेका छौँ ? एउटा टाइको गाँठो मिलेन भने ईसाईले उस्लाई आफ्नो कार्यक्रमबाट निकाल्दिन्छ।उनीहरु त्यत्तिका सचेत छन् तर हामीमा चेतना खोई ?मैले धेरै पटक धेरै ठाउँमा यो कुरा भनेँ तर म जनै नलाउने जातको मान्छे भएर होला, मेरो कुरा कल्ले सुन्ने ? त्यसकारण आज झोक चलेर भानु जयन्तीको शुभ अवसरमा यत्ती कुरा सबै छेउ राखेँ।सबैलाई भानु जयन्तीको हार्दिक मङ्गलमय शुभ कामना अर्पण गर्दछु।।यसबाट सर्व लोकको कल्याण होओस् ।।।। शुभम् ।। ॐ ॐ ॐ जनै पूर्णिमा विशेष









