युवा कवि श्रेष्ठको बूढो समय सार्वजनिक

सिन्धुलीका युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ संघीय राजधानी काठमाडौमा सार्वजनिक भएको छ । सिन्धुलीकै गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको हो ।
पूर्वको रोल्पाको रुपमा चित्रण गरिएको माओवादी जनयुद्धको उर्वर भूमि मरिणमा रहेर कविता लेखनमा सक्रिय रहेका कवि यात्रीको पहिलो काव्यकृति २०६३ सालमा ‘देश स्वप्न’ प्रकाशित भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली साहित्यमा युवा कवि यात्रीका कविताले प्रगतिवादी धार समातेको चर्चा गरे । यात्रीका कविताले वैदेशिक रोजगारीका पीडा, विद्यमान राजनीतिक अव्यवस्था, माओवादी युद्धले नेपाली समाजका विविध क्षेत्रमा पारेका प्रभावबारे भन्ने जमर्को गरेको बरालको भनाई थियो ।

बिमोचन कार्यक्रममा विद्यमान कविता लेखन, प्रबृत्ति र पुस्ताका विषयमा चर्चा गरिएको थियो । समालोचक ज्ञानु अधिकारीले कवितामा जति डुबेर, हराएर पढिन्छ त्यति मजा आउने बताए । उनले अगाडि भने, “कविता पढ्नु सरल छैन । कविले जुन चेतना, अनुभूति विचारमा डुबेर लेखेको हुन्छ त्यो तहमा कविता बुझ्नु जटिल बिषय हो ।”

अर्का कवि सुरेश किरणले अहिले शब्दकोश पल्टाएर कविताको अर्थ पढ्नु पर्ने समय नभएको उल्लेख गरे । उनले कवि यात्रीका कविता चर्चा गर्दै भने: “कवितामा शब्द छनोट र वाक्य निर्माण छोटा छन् । फ्रेस जस्तो लाग्यो । अरू कविको भाषासँग मेल खाएको लागेन । अहिलेको कविता सरल भाव, शैलीमा धेरै अर्थ भन्ने नै हो ।”

यात्रीको ‘काठमाडौँहरू’ कवितामा असहमति राख्दै कवि किरणले विमोचन समारोहमा भने, “काठमाडौंले कसलाई चुसेको छ ? म काठमाडौंमा जन्मिएको मानिस हुँ । म सोच्छु बाहिरका मानिसले हामीलाई पो चुसिरहेको छ कि ?”

कवि महेश पौडेलले कविको भूगोलमा प्रवेश गरेर कविता पढ्नु पर्ने बताए। उनले भने: “क्लिस्ट शब्दको ठाउँमा सरलको खोजी हुनुपर्छ । नयाँ बिम्ब, प्रतिक, भाव अभिब्यञ्जना कविता पढ्दा पाउनु पर्छ ।” कवि यात्रीले सहरभन्दा टाढा ग्रामीण वस्तीका अनुभूतिलाई आफूले कवितामा उतारेको भन्द्र प्रशंसा गरे ।
सिन्धुलीको विजयछापमा जन्मिएका कवि यात्री हाल मरिणमा बसोबास गर्दै आएका छन् । मरिण बहुमुखी क्याम्पस र कपिलाकोट माध्यमिक विद्यालयमा अध्यापनरत कवि यात्रीले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरपछि काठमाडौँ विश्वविद्यालयबाट एमफिल गरिरहेका छन् ।