बहराइनमा कोरोना संक्रमित नेपाली १५७ पुग्यो, एकै दिन ३१ संक्रमित थपिए

रोजगारीका लागि बहराइन पुगेका नेपालीमा कोरोना भाइरस संक्रमणको जोखिम दिनदिनै बढेको छ ।

बहराइनमा हालसम्म कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ । बहराइनमा बिहीबार एकै दिन ३१ नेपालीमा कोरोना संक्रमण देखिएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना संक्रमण देखिएको बहराइनस्थित नेपाली दूताबासले जनाएको छ ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र उनीहरुको अवस्था सामान्य रहेको दूतावासले जानकारी गराएको छ ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ ।

समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ । आफूलाई परेको समस्या अनलाइनमार्फत भर्न सकिने पनि दूतावासले जनाएको छ ।

समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका लागि पहल गर्न दूतावासले बहराइनमा रहेका नेपाली समुदाय र संघसंस्थालाई पनि आग्रह गरेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत छन् ।