सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालबीच २० गते बस्ने पार्टी सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल भएको छ ।
शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको नेपाल निकट एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।
नेकपाभित्र गहिरिँदै गएको राजनीतिक संकटमा प्रचण्ड–नेपाल अहिलेसम्म सँगै रहे पनि हिजोबाट अध्यक्ष प्रचण्ड नेपालसँग सशंकित देखिन थालेको बताइएको छ । अर्का अध्यक्ष ओलीले पूर्व एमालेजति सबै एकै ठाउँमा उभिएर प्रचण्डको छलछामका विरुद्ध उभिनु पर्ने भन्दै आन्तरिक रुपमा सम्वाद अगाडि बढाएको बताइन्छ ।
अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छोड्नु पर्ने उनीहरूको भनाइ थियो ।प्रधानमन्त्री ओलीले आफूले कोरोनाको संक्रमणबाट पार पाएपछि सत्ता छोड्ने तर प्रधानमन्त्री वामदेव गौतम बन्नुपर्ने प्रस्ताव गरेका छन्।
प्रधानमन्त्रीको यस्तो प्रस्ताव आएपछि शनिबार बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रचण्ड–नेपालबीच छलफल भएको बताइएको छ। नेपाललाई भेट्नुअघि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पनि छलफल गरेको स्रोतले जानकारी दिएको छ।