नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा निर्वाचित महिलाहरूले असाधारण क्षमता देखाएको बताउनु भएको छ । आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले राजनीतिक परिवर्तनसँगै महिलाहरूको अवस्थामा गुणात्मक सुधार आइरहेको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । कार्यक्रममा ओलीले बिभिन्न दृष्टान्त दिँदै देशमा राजनीतिक परिवर्तन मात्रै भयो र अवस्था परिवर्तन भएन भन्ने टिप्पणी पूर्ण सत्य नभएको बताउनु भयो ।
महिलाहरूको प्रतिस्पर्धी क्षमता बढेको र उनीहरूले आफूलाई कामबाटै प्रमाणित गरेर देखाएको ओलीको निश्कर्ष थियो ।
‘महिलाहरुले ३३ प्रतिशत त टेबुल ठटाएर पाइरहनु भएको छ । महिला सशक्तीकरण नबढेको भन्न मिल्छ ? ३३ प्रतिशत भने पनि प्रतिस्पर्धा गरेर त्यहाँ पुग्नु भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले स्थानीय तहमा महिला जनप्रतिनिधिहरूले गरेको कामको खुलेर प्रशंसा गर्नुभयो ।
‘स्थानीय तहमा पुरुषहरूभन्दा महिलाहरु हरेक हिसाबले अब्बल देखिनुभएको छ,’ ओलीले भन्नुभयो, ‘निर्वाचनमा मात्र होइन, महिलाको प्रतिस्पर्धी क्षमता काममा पनि असाधारण देखियो । सँगसँगै स्वच्छता, पारदर्शिता, कानूनको परिपालना र विधिको शासनमा उनीहरू पुरुषभन्दा एक पाइला अगाडि छन ।’