फिक्कल गाउँपालिका ३ मा रहेका कोभिड–१९ प्रभावितहरूलाई शनिवार नगद प्रदान गरिएको छ । कोभिड–१९ प्रभावित परिवारहरू लक्षित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि नगद योजना अन्तर्गत नगद प्रदान गरिएको हो ।
फिक्कल गाउँपालिका वडा नं. ३ को कार्यालय, रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि नगद योजनाबाट वडा कार्यालय र स्वास्थ्य चौकीमा पहिरोको जोखिमबाट जोगाउन पर्खाल निर्माण गरिएको परियोजना संयोजक पंकज पाण्डेले जानकारी दिनुभयो । उपस्थित हुने सेवाग्राहीलाई सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले पर्खाल निर्माण गरिएको हो ।

आरसी परिवार, अति विपन्न, एकल महिला÷पुरुष भएको परिवार, गर्भवती/सुत्केरी परिवार, कोभिड–१९ प्रभावित (मृत्यु, अस्पताल भर्ना, प्रभावित तथा कोभिडको कारण काम गुमाएका परिवार), अपाङ्गता भएका परिवारका सदस्यहरूलाई नगद योजनामा समावेश गराइएको थियो ।
कोभिड–१९ ले गर्दा घरमा आर्थिक संकट भएको २५ विपन्न परिवारको सदस्यलाई कामको लागि नगद योजना मार्फत आर्थिक टेवा पुग्ने अपेक्षा परियोजनाले गरेको छ । २५ दिनसम्म काम गरेबापत २५ जना कामदारले जम्मा ५ लाख ४४ हजार ३७५ रुपैयाँ प्रदान गरिएको छ । १७ जना अदक्ष कामदारहरूले दिनको ७७५ को दरले १९ हजार ३७५ र ८ जना दक्ष कामदारहरूलाई दिनको १ हजार ७५ रुपैैया प्रतिव्यक्ति २६ हजार ८७५ रुपैंया प्रदान गरिएको छ ।
फिक्कल गाउँपालिका वडा नं. ३ को वडा कार्यालयको तर्फबाट ४ लाख ७८ हजार ९३३ रुपैंया ६ पैसा, रिलिफ नेपाल/वर्ल्ड भिजन इन्टरनेसनलको तर्फबाट ६ लाख ४ हजार ७१२ रुपैंया १७ पैसा गरि १० लाख ८६ हजार ६४५ रुपैंया २३ पैसाको लागतमा पर्खाल निर्माण गरिएको छ ।











