बार एसोसिएसनको अध्यक्षमा घिमिरेको अग्रता कायमै

नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।

अहिलेसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार चार मत प्राप्त गरेका छन्।

नेपाल बार एसोसिएसनका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। बुधबारसम्म ६ स्थानमा गणना भइरहेको थियो। आजदेखि थप दुई स्थान बढाएर आठ स्थानमा मतगणना गर्ने तयारी भइरहेको छ।

अहिलेसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनाल एक हजार ७६५ मत पाएकी छन् भने अर्का उम्मेदवार केदारप्रसाद कोइरालाले एक हजार १५७ मत पाएका छन्।

त्यस्तै, कोषाध्यक्षमा भरतबहादुर राउतले एक हजार ९२८ मत र जगतबहादुर कार्कीले एक हजार ६६ मत प्राप्त गरेका छन्।

मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो। आज बिहान ९ बजेदेखि पुनःमतगणना प्रारम्भ गरिनेछ। शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिइन्।

यही चैत १९ गते देशभर ३५ स्थानमा निर्वाचन भएको थियो। बारमा अध्यक्षसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका थिए। तीमध्ये सात हजार ४२९ मत खसेको थियो।