आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति गरेको माओवादी केन्द्रले तीनपाटन गाउँपालिकामा आफ्नो कमजोर उपस्थितिलाई कसरी बलियो बनाउन सक्छ ? भन्ने विषयमा माओवादी केन्द्रका नेताहरुबीच जोड घटाउ प्रारंभ भएको छ ।
तीनपाटनका माओवादी नेताका अनुसार नेपाली कांग्रेससँग गठबन्धन भएसँगै उपाध्यक्षका लागि चार जना प्रत्यासी देखिएका छन् । त्यसका लागि तीनपाटन इन्चार्ज अशोक पुलामी, मधु कटुवाल, दिनेश रमौली र जानुका तिमल्सिना प्रतिस्पर्धाको मैदानमा छन् ।
नेपाली कांग्रेसका संभावित अध्यक्षका उम्मेदवार कर्णवहादुर थापाले वडा नं. ५ का वडाध्यक्ष दिनेश रमौलीलाई उपाध्यक्ष बनाउन चाहान्छन् तर माओवादी युवाहरु मधु कटुवाललाई बनाए मात्रै पार्टी र संगठन बलियो हुने पक्षमा उभिएका छन् । तर जिल्ला पार्टीमा बलियो प्रभाव राख्ने पालिका इन्चार्ज अशोक पुलामीलाई अध्यक्ष राजन दाहालको आर्शिवाद प्राप्त भएकाले पनि उपाध्यक्ष बन्ने दौडमा पुलामी अगाडि देखिएका छन् । यता उपाध्यक्ष पदमा महिला अनिवार्य चाहिन्छ भन्ने कुरालाई जोड तोडले उठाएर आफ्नो पक्षमा पल्लाभारी पार्ने पक्षमा तिमल्सिना देखिएकी छिन् । तर उनको संभावना कमजोर देखिएको छ । तीनपाटन माओवादी भित्र युवाहरुलाई परिचालन गरेर बलियो उपस्थिति देखाउने क्षमता राख्ने कटुवाल पार्टी नेतृत्वले स्थानीय आवश्यक्तालाई सहजै बुझ्ने र आफु त्यसका लागि योग्य भएकोमा ढुक्कछन् । किनकी उपाध्यक्षका लागि आफुमात्रै सबै हिसावले फिट हुने उनको दाबी छ ।
राजनीतिमा शालिन र बैचारिक स्तर राम्रो उठेका दिनेश रमौली तीनपाटन माओवादीका सबैभन्दा पुराना नेता मानिन्छन् । अहिलेका आकांक्षीहरुले आफुलाई केन्द्रमा राखेर राजनैतिक जोड घटाउ गरेपनि उनी इमान्दार पात्र मानिन्छन् । मलाई यो वा त्यो पद चाहियो भनेर हिंड्ने भन्दा पनि कसैको मन किन दुखाउने ? भन्ने सोच र व्यवहारकै कारण एमाओवादी तीनपाटनको अध्यक्षको प्रत्यासी हुँदाहुँदै पनि जिल्ला अध्यक्ष राजन दाहालले आनन्द कार्कीलाई पालिका कमिटी अध्यक्ष बनाउँदासमेत उनले कुनै अब्जेक्सन गरेनन् । उनले आफुभन्दा जुनियर कार्कीलाई नेता मान्दै तल्लो पदाधिकारीमा बसेकोमा अहिले भने उनलाई असहजता महशुस भएको एक नेताले बताए । माओवादीले तीनपाटन गाउँपालिकामा उपाध्यक्षसहित बहुमत वडाध्यक्षमा दावी गरेको थाहा लागेको छ । जस अनुसार पालिका कमिटी अध्यक्ष कार्कीका लागि नेपाली कांग्रेसले तीनपाटनको वडा नंं. १० छोड्नुपर्ने छ । त्यसैगरी वडा नं. २ वडा नं. ४, ५, ९ र ११ वडाहरु आफ्नो लागि चाहिने भनिएको छ । त्यसैगरी नेकपा एसका लागि वडा नं. ७ छुट्याइएको छ । मतभारका हिसावले तीनपाटन गाउँपालिकामा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दलका रुपमा रहेको छ ।
गएको स्थानीय निर्वाचनमा ५ नंं वडा जितेर खाता खोलेको माओवादी केन्द्रका लागि आउँदो स्थानीय निर्वाचन गर या मरको अबस्थामा पुगेको छ । जनमत बलियो भएका उम्मेदवार भन्दा नेतासँग बलियो सम्बन्ध भएकाले उम्मेदवारी पाउने अबस्था देखिएपछि तीनपाटन गाउँपालिकामा बनेका महागठबन्धन एमालेको हेभीवेटवाला उम्मेदवारहरु चुनौतीको पहाड बन्ने देखिएको छ ।










