क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका पनि अपनाइएको छ । नाकाबन्दीले जस्तै निराशा र वैमनस्य फैलाउने नियतले त्यो तरिका अपनाइन्छ ।
अमेरिकी अधिकारीहरूले क्युवाली क्रान्तिकारी सरकारबारे झूटा खबरहरू जम्मा गर्न, तिनलाई क्युवाभित्र प्रसारण गर्न र ती समाचार विदेशमा पठाउने कार्यका लागि पैसा तिर्नेगर्छन् । अमेरिकी दाताहरूले क्युवामा वा अन्त क्युवाली सरकारविरोधी काल्पनिक खबरहरू प्रवाह गर्ने दलालहरूलाई पैसा दिन्छन् । पैसा पाउनेहरूले क्युवाविरोधी सूचनाहरू खोज्छन् वा फर्जी सूचना बनाउँछन् र फैलाउँछन् । कोरोना महामारीले निम्त्याएको अभाव, कर्मचारीको मनोवृत्ति, न्यून ज्याला र कष्टकर जीवनबारे क्युवालीहरूले गर्ने गुनासाहरू समाचारका मसला बन्छन् ।
क्युवाका असन्तुष्ट तत्वहरूलाई अमेरिकाबाट क्युवा वा बाहिर पैसा पठाउने समूहहरू यो समस्त क्रियाकलापका खेलाडी हुन् । विभिन्न अमेरिकी सहरहरूमा एउटा आपराधिक संजालभित्र एक बिन्दुबाट अर्कोमा पैसा पठाउने व्यक्तिलाई ‘झोले’ भनिन्छ । पैसा लेनदेन गर्ने यी समूहहरू १९९६ को हेल्म्स बर्टोन कानुनले आधिकारिकता दिएका साम्राज्यवादी ‘झोले’ हुन् ।
अपराधको गन्ध आइरहेको छ । क्युवाको आन्तरिक मामिलामा हस्तक्षेप गर्नाले सार्वभौमसत्तासम्बन्धी अन्तर्राष्ट्रिय कानुन मिचिन्छ । फेरि पनि २०११ मा जस्तै जालझेल, कोषको जथाभावी वितरण र राज्यको पालनपोषणमा रहेका क्युवाविरोधी समूहहरूलाई पैसा दिने आरोपहरूले गर्दा अलि समय थैलीको मुख बन्द भएको छ ।
नेड (न्यासनल इन्डोमेन्ट फर डिमोक्रेसी, NED) ठूला दुई अमेरिकी दाताहरूमध्ये एक हो । १९८३ मा स्थापना भएको यो एक गैरसरकारी संस्था हो । यसलाई अमेरिकाले कोष उपलब्ध गराउँछ । नेडले कोष उपलब्ध गराउने परियोजनाहरू अमेरिकी गुप्तचर निकाय सीआईएले सञ्चालन गर्ने परियोजनाजस्तै छन् ।
२०२२ जनवरी १८ मा क्युवाली कम्युनिस्ट पार्टीको मुखपत्र ‘ग्रान्मा’ले २०२१ फेब्रुअरी २३ मा नेडले प्रकाशित गरेको सूची छापेको छ । ‘क्युवामा हस्तक्षेप गर्न सन् २०२० भित्र २० हजारदेखि ६ लाख ५० हजार डलरसम्म रकम लिने’ समूहहरूको नाम दिइएको छ ।
सूचीमा ४२ समूहहरूको नाम छ । जम्मा ५० लाख ७७ हजार ७८८ डलर दिइएको छ । तल छोटो सूची दिइएको छ । यसमा १ लाख ४६ हजार ३६० डलर र त्योभन्दा बढी रकम लिएका समूहहरूको नाम, तिनले लिएको रकम, मुख्यालय र समाधान गर्नुपर्ने कथित क्युवाली समस्या दिइएको छ ।
नेडको कोषबाट पैसा बुझ्ने शीर्ष संस्थाहरू :
१. क्युवालेक्स ः १ लाख ५० हजार डलर – मेम्फिस, टेन । (मानव अधिकार)
२. अन्तर्राष्ट्रिय मामिलाबारे राष्ट्रिय प्रजातान्त्रिक संस्थान (एनडीआई) : ५ लाख डलर वासिङ्टन डीसी । (लैङ्गिक अधिकार)
३. अब्जरभेटोरियो क्युवानो डे देरेकोस ह्युमानोस : १ लाख ५० हजार डलर – म्याड्रिड
(मानव अधिकार)
४. एसोसियासियोँ डियारियो डे क्युवा : २ लाख १५ हजार डलर – म्याड्रिड (सूचनामा पहुँच)
५. इन्सटिच्युटो क्युवानो पोर ला लिबर्ताद डे एक्प्रेसोँ ए प्रेस्ना : १ लाख ४६ हजार ३६० डलर – हेलिया, फ्ला । (सूचनामा पहुँच)
६. क्युवाली प्रजातान्त्रिक निर्देशनालय : ६ लाख ५० हजार डलर – मियामी (सूचनामा पहुँच)
७. अन्तर्राष्ट्रिय निजी उद्योग केन्द्र (सीआईपीई) : ३ लाख ९ हजार ७६६ डलर – वासिङ्टन डीसी (सहयोगग्राही निजी क्षेत्र)
८. क्लोभेक भी तिस्नी, ओपीएस (आश्रित जनता) : १ लाख ५० हजार ८८२ डलर – प्राग
(सूचनामा पहुँच)
९. ग्रुपो इन्टरनासियोनल पारा ला रिस्पोन्साबिलिदाद सोसियल कर्पोरेटिभा एन क्युवा : २ लाख ३० हजार डलर – मियामी (श्रम अधिकार)
अन्तर्राष्ट्रिय विकासको लागि संरा अमेरिकी नियोग (यूएसएड) अर्को दाता हो । २०२१ अक्टोबर २३ मा गत महिना युएसएडले छुट्याएको सहयोगबारे पत्रकार ट्रेसी इटनले ‘क्युवा नगद परियोजना’ मा एउटा रिपोर्ट लेखे । युएसएडले १२ वटा सङ्गठनलाई ६६ लाख ६९ हजार डलर दिने घोषणा गरेको थियो । सूची यस्तो थियो :
१. अन्तर्राष्ट्रिय गणतन्त्र संस्थान : १० लाख ६ हजार ८९५ डलर – वासिङ्टन डीसी
(मानव अधिकार)
२. अखिल अमेरिकी विकास नियोग : ८ लाख डलर – वासिङ्टन डीसी (श्रम शोषण)
३. क्युवामा मानव अधिकारसम्बन्धी नियोग : ७ लाख १७ हजार डलर – मियामी
(मेडिकलकर्मीको शोषण)
४. डिजिटल समाचार संस्था : ६ लाख ४ हजार ९२० डलर (सैन्य दुरुपयोग)
५. ग्रुपो डे अपोयो अ ला डिमोक्रेसिया : ६ लाख २५ हजार डलर – मियामी (राजनीतिक बन्दी)
६. नश्ल, समानता र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थान : ५ लाख ४६ हजार डलर – वासिङ्टन डीसी (मानव अधिकार र नश्लवाद)
७. साम्यवाद पीडित स्मृति नियोग : ५ लाख ४५ हजार ५७३ – वासिङ्टन डीसी
(प्रजातन्त्र)
८. डिरेक्टोरियो डेमोक्रासियो क्युवानो : ५ लाख २० हजार १७९ डलर – मियामी
(पर्यटकनकर्मीको दुरुपयोग)
९. अमेरिकीहरूलाई सुदूर सहयोग : ५ लाख डलर – मियामी (मानवीय सङ्कट)
१०. क्युवानेट समाचार : ४ लाख ८ हजार ३ डलर – कोरल गाब्लीस (पर्यटनकर्मीको दुरुपयोग)
११. अब्जर्भेटोरियो क्युवानो डे देरेकोस ह्युमानोस : २ लाख ५० हजार डलर – म्याड्रिड
(राजनीतिक बन्दी)
१२. लिबर्तातिस : १,६६,४३० डलर – हस्टन, टेक्सस (मानव अधिकार)
धेरै सहरका क्युवालीहरू, त्यसमा पनि युवाहरू २०२१ जुलाई ११ मा सडकमा ओर्लिए । तिनले चिकित्सक सामग्री, खाद्यान्न र अन्य मालसामानको अभावमा विरोध प्रकट गर्दै थिए । विदेशबाट रेमिट्यान्स नआएको र केही घटनामा नश्लीय विभेदको विरोध भइरहेको थियो । लगत्तै धरपकड सुरु भयो । तिनलाई हिरासतमा लिएर मुद्दा चलाइयो र आरोप पुष्टि भएका केही व्यक्तिलाई कैद गरियो । सोसल मिडियाले प्रदर्शनकारीहरूलाई परिचालन गर्न, तिनको पक्राउको खबर फैलाउन मुख्य भूमिका खेले । समाचारमा तिनीहरू घाइते भएको, तिनको धनमा क्षति भएको र त्यसबारे विदेशी प्रतिक्रियाहरू पनि देखाइयो ।
क्युवाविरोधी प्रचारबाजीमा सोसल मिडियाले प्रभाव पारेको विगतको अनुभवलाई ध्यान दिँदै संरा अमेरिकी सरकारको पैसा बिचौलियाहरूले सोसल मिडियाको भूमिका विस्तार गर्न खर्च गरेकोमा शङ्का छैन । प्रदर्शनकारीहरू भर्ती गर्न र झूटो खबर प्रसार गर्न सोसल मिडियाको प्रयोग भइरहेको छ ।
संरा अमेरिका र युरोपका क्युवाविरोधी नेताहरूसम्म क्युवाबारे झूटो समाचार पुग्दा त्यसको महत्व बढ्छ । क्युवालाई अस्थिर बनाउने नयाँ उद्देश्यसहित प्रशासनिक र कानुनी कारबाही गर्ने नयाँ बहाना प्राप्त हुन्छ । त्यसपछि नाकाबन्दीलाई अझ कडा पारिन्छ । यसले गर्दा क्युवामा नयाँनयाँ दुःखका रिपोर्टहरू पैदा हुन्छन् ।
परराष्ट्रमन्त्री एन्टोनी ब्लिङ्केनले हालै जुलाई ११ को प्रदर्शनमा सहभागी केही नेताहरूको मुद्दा र जेल सजायबारे प्रतिक्रिया दिए । उनले आठजना क्युवाली अधिकारीहरूको प्रवेशाज्ञामा प्रतिबन्ध लगाएका छन् । हालसालै दक्षिण फ्लोरिडाका सांसदहरूले क्युवाविरुद्ध नाकाबन्दी लगाउन राष्ट्रसङ्घसँग अनुरोध गर्नुपर्ने कानुनी प्रस्ताव राष्ट्रपति जो बाइडेनसामु पेश गरे । कानुनको शीर्षक छ – ‘क्युवामा अत्याचार र नरसंहार’ ।
क्युवालाई घेराबन्दीमा पार्नु यी सबै क्रियाकलापको लक्ष्य हो । ‘ब्ल्याकसटर््स र रेड्स’ नामक आफ्नो पुस्तकमा माइकल प्यारेन्टीले रुसी क्रान्तिकारीहरूको चित्रण गरेका छन् । पुँजीवादी देशहरूको आक्रमण र गृहयुद्धको दबाबले गर्दा लेनिनको नेतृत्वमा रहेका कतिपय क्रान्तिकारीहरूको मनोबल खस्केको थियो । उनी लेख्छन्, “१९२१ को मे महिनामा पार्टीभित्र प्रजातन्त्र र सङ्घर्षको अभ्यास गर्न र ट्रेड युनियनहरूलाई धेरै स्वायत्तता दिन उत्साहित गर्ने लेनिनले नै विपक्षी समूह र पार्टीभित्रका अन्य गुटका गतिविधिहरूलाई रोक्न आदेश दिए ।”
फिडेल क्यास्त्रोले शत्रुको आक्रमणले ढलमलाएको समाजवादी समाजको एकचोटि सजीव चित्रण गरेका थिए । यस्तो ढलमलबारे शत्रुहरूले सकेसम्म चर्को प्रचारबाजी गर्छन्, मानाँै जताततै शान्ति छाएको होस् । क्यास्त्रोले घोषणा गरेका थिए – ४० वर्षसम्म तिमीहरूले हाम्रो घाँटी थिच्यौ । अनि अहिले आएर तिमीहरूले हामीले सास फेर्ने तरिकाको आलोचना गर्छौ ?
(U.S. government pays big money for bad news about Cuba)
–Peoples World (January 25, 2022)