‘कांग्रेस सत्ता र प्रतिपक्षमा रहँदा डबल स्ट्याण्डर राख्दैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन्।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रस्तावलाई अघि बढाउने बताएको जानकारी दिए।

महामन्त्री थापाले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रिपरिषदबाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताए। उनले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रिपरिषदबाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिएको बताए।

‘प्रधानमन्त्रीले अन्तिममा आफ्ना कुरा राख्दा यो नेपाली कांग्रेसको नेतृत्वको सरकारले अहिले प्रस्तुत गर्न लागेको विधेयक होइन, अगाडिको तिथिमित स्मरण गर्दै प्रस्ताव प्रस्तुत गरेको हो र प्रतिपक्ष र सरकारमा रहँदै गर्दा नेपाली कांग्रेसले डबल स्ट्याण्डर राख्दैन। र यसको तत्कालीन नाफा घाटा के हुन्छ, भन्ने कुरालाई कांग्रेसले पनि त्योप्रति चिन्तित भएर आफ्नो कर्तव्यबाट च्युत भयो भने यो सन्दर्भमा नेपाली कांग्रेसको आफ्नो छुट्टै परिचय रहँदैन, त्यसैले यसको नाफा घाटा जे सुकै होला, नेपाली कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्दछ भन्ने कुरा गर्नु भो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै महामन्त्री थापाले भने।

महामन्त्री थापाले थपे, ‘केपी शर्मा ओली नेतृत्वमा रहेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीचमा भएको अनुदान सहयोग सम्झौतालाई अनुमोदनको लागि मन्त्रिपरिषदमा पेश गर्ने र अनुमोदन भइसकेपछि दातृ निकायलाई जानकारी गराउने भनेर जुन प्रस्ताव पारित गर्‍यो, पारित गरेको प्रस्तावले २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरायो। त्यो दर्ता गरेको विधेयकलाई हामीले २०७६ साल पौष १५ गते, जतिबेला नेपाली कांग्रेस प्रतिपक्षमा थियो, त्यही बेलामा पनि हामीले संसदमा दर्ता भइरहेको प्रस्तावलाई तत्काल छलफलमा लगेर अनुमोदन गर्नुपर्छ भनेको हो’

उनले अगाडि भने, ‘आज नेपाली कांग्रेसको संसदीय दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले संसदमा दर्ता गरेको यो प्रस्तावलाई तत्काल संसदमा टेबल गरेर यसलाई अनुमोदनको प्रक्रिया अघि बढाउनु पर्छ भनेर माग गर्ने निर्णय गरेको छ। योसँगै के विश्वास पनि प्रकट गरेको छ भने नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन मन्त्रिपरिषदमा रहेको सम्पूर्ण त्यो बेलाका जतिपनि मान्यज्यूहरु हुनुहुन्थ्यो अहिले फरक पार्टीमा हुनुहुन्छ। उहाँहरुको संयुक्त सरकारले त्यो बेलामा मन्त्रिपरिषदबाट पारित गरेर संसदमा दर्ता गराएको विधेयक संसदमा अनुमोदनका लागि प्रस्ताव हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि यसको पक्षमा उभिन्छ। एकीकृत समाजवादी र माओवादी केन्द्र पनि पक्षमा नै उभिन्छ भन्ने कुराको विश्वास पनि नेपाली कांग्रेसले आजको संसदीय दलको बैठकबाट प्रकट गरेको छ।’

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा अन्य दलहरुको पनि सहयोग हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणामाथि लगाएको महाअभियोगको सन्दर्भमा हामीले यो महाअभियोगको प्रस्तावको प्रक्रिया अघि बढ्दै गर्दा संसदभित्र रहेका हस्ताक्षर गरेका दलबाहेक अन्य राजनीतिक दलसँग सम्बन्धित भएका सांसदहरुले पनि यो महाअभियोग उपयुक्त भएकोले गर्दा यसलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ। यो महाअभियोगको प्रस्तावलाई संसदबाट पारित गर्नका निम्ति हामीले अन्य राजनीतिक दलहरुसँग सम्बद्ध सबै सांसदहरुलाई आह्वान पनि गरेका छौँ।’

महामन्त्री थापाले बैठकमा पार्टीका नेताहरुले सरकारका कामका बारेमा छलफल गर्न खोजेकाले चाँडै त्यसका लागि बैठक बोलाइने पनि बताए।