राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।
मंगलबार बसेको काठमाडौँमा उपलब्ध राप्रपाका पदाधिकारीको बैठकले पूर्वअध्यक्ष थापालाई पार्टी छाड्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो।
‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ। पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ,’ बैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राप्रपाका पूर्वअध्यक्ष थापाले गृहनगर हेटौँडामा आयोजित एक कार्यक्रममा राप्रपाबाट अलग भएको घोषणा गरेका थिए।












