भारतमा पश्चिम बंगालको जपाईगुडीमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। दुर्घटनामा कम्तिमा ४५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने बताइएको छ। सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
स्थानीय समयअनुसार बिहीबार साँझ करिब पाँच बजे उक्त दुर्घटना भएको हो। राजस्थानको बीकानेरदेखि गुवाहाटी जाँदै गरेको रेल दुर्घटना भएको हो। कैयौँ व्यक्तिहरु अझै रेलभित्र च्यापिएको अवस्थामा हुनसक्ने अनुमान गरिएको छ।
दुर्घटना सम्बन्धी पूर्ण विवरण आइसकेको छैन। सुरक्षाकर्मी र स्थानीयहरु उद्धारमा खटिएका छन्।
दुर्घटनालगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई टेलिफोन गरेर दुर्घटनाबारे बुझेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
रेलमा करिब १ हजार २०० यात्रु सवार रहेको बताइएको छ।