उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।
किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित नै रहेको दक्षिण कोरियाका अधिकारीले बताएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले सिएनएनसँगको अन्तर्वार्तामा आइतबार भनेका छन्, ‘हाम्रो स्पष्ट भनाई यो छ कि कमि जोङ–उन जीवित र राम्रो अवस्थामा छन् ।’
नेता किम अहिले वुन्सान नामको रिसोर्ट टाउनमा रहेको उनले बताएका छन् । उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रको वुन्सानमा नेता किम अप्रिल १३ देखि रहेको दक्षिण कोरियाली राष्ट्रपति मूनका विशेष सल्लाहारले बताएका छन् ।
अहिलेसम्म सो क्षेत्रमा कुनै पनि असामान्य गतिविधि नदेखिएको उनले सिएनएनसँग बताएका हुन् ।
नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका छन् । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका छैनन् ।
त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् ।
गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन ।