आरडीटीमा कोरोना पोजेटिभ युवतीको मृत्यु

र्यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकी पर्साको बिरगञ्जकी एक युवतीको आज मृत्यु भएको छ ।

पटक पटक गरी ३ पटक सम्म आरडीटी गर्दा तीनै पटक कोरोना पोजेटिभ पाईएकी विरगञ्ज उपमहानगरपालिका १० अशोक बाटिका बस्ने २३ बर्षीया युवतीको आज मृत्यु भएको हो ।

रक्त क्यान्सरबाटसमेत पीडित ती युवतीको स्वास्थ्य अवस्था बिग्रिएपछि आज विहान विरगञ्जस्थित नारायणी अस्पतालको आईसोलेसनमा लैजाने क्रममा मृत्यु भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको आशंका भएपछि युवतीको आरडीटी गरेको र रिपोर्ट पोजेटिभ पाईएको थियो । त्यसपछि दोश्रो र तेश्रो पटक पनि नारायणी अस्पतालबाट गएको टोलीले आरडीटी गर्दा त्यसमा पनि पोजेटिभ रिपोर्ट आएको मेसु डा. उपाध्यायले बताए ।

युवतीको मृत्युको कारण स्पष्ट पार्न स्वाब लिइएको र परिक्षणका लागि हेटौंडा अस्पताल पठाइएको छ ।