प्रहरीद्धारा सांसद अपहरणसम्बन्धी जाहेरी लिन अस्वीकार, नागरिक सर्वोच्चताको उलंघन

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतद्वारा सर्बेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठबिरुद्ध सांसद सुरेन्द्र यादव अपहरणमा जाहेरी दिन अस्वीकार गरेका छन्।

भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसँग अपहरित भनिएका सुरेन्द्र यादवसहित बस्नेत, खनाल र श्रेष्ठबिरुद्ध महानगरीय परिसर काठमाडौँमा जाहेरी दिन आइतबार दिउँसो पुगे पनि एसएसपी ज्ञवालीले ठाडै अस्वीकार गरेका हुन्।

‘मेरा पनि बाध्यता छन्, तपाईँहरु जहाँ जानुहुन्छ, जानुस्, मेरो तहबाट हुँदैन,’ एसएसपी ज्ञवालीलाई उद्धृत गर्दै जाहेरी दिन गएका नेताहरुले भने।

जाहेरी दिन अस्वीकार गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले कार्यकारी प्रमुख संलग्न रहेको यो विषयमा सरकारले आफैँ छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्नेमा जाहेरी पनि लिन अस्वीकार गरेर राज्यले झन् आतंक सिर्जना गर्न खोजेको बताए। काठमाडौ प्रहरीको यो प्रकरणले नागरिक सर्वोच्चता जनताको हातमा छ भन्ने तथ्यमा गंभीर प्रश्न उठाएको छ ।

सांसद यादवलाई गत बिहीबार नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालसहित महोत्तरी गएर अपहरण गरी ल्याएको भन्दै यादवको दल समाजवादीलगायत अन्य दलका नेताहरुले आरोप लगाउँदै आएका छन्। बालुवाटारकै संलग्नतामा यादवको अपहरण  भएको भनी आरोप लागिरहेको छ।