ब्राजिलका चर्चित न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै चर्चित मन्त्री मोरोले राजीनामा दिएका हुन् ।
पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए । राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि उनले राजीनामा दिएका हुन् ।
गोप्य सूचनाहरु सीधै आफूसम्म पुर्याउने व्यक्तिको खोजी बोल्सोनारोले गरेको मोरोको आरोप छ । तर बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोप आधारहिन रहेको दाबी गरेका छन् ।
शुक्रबार राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुख माउरिसियो भालेक्सोलाई बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गर्नुको कुनै कारण नै खुलाइएको थिएन । उनलाई बर्खास्त गरेमा आफूले राजीनामा दिने मोरोले बिहीबार नै बताएका थिए ।
तर त्यसपछि भावी प्रहरी प्रमुखको छनौट गर्न आफूलाई दिने भए पदमा रहिरहने उनले बताए । राष्ट्रपति बोल्सोनारो त्यसमा पनि सहमत नभएपछि मोरोले राजीनामा दिएका हुन् ।
मोरोले राष्ट्रपतिमाथि लगाएको आरोपको स्वतन्त्र छानबिन हुनु पर्ने माग न्याय क्षेत्रकै व्यक्तिले गरिरहेका छन्।