शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति प्रतिवद्ध छुः प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संविधान बमोजिम शक्ति पृथकीकरणको मान्यतामा प्रतिवद्ध रहेको बताएका छन्।

दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन्।

‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवं स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासन सम्बन्धी अवधारणाप्रति प्रतिवद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रति दृढतासमेत व्यक्त गर्दछु। त्यसमा कहीँकतैबाट आँच आउन नदिन सदैव सचेत गम्भीर र संवेदनशील रहेको पनि म यहाँ थप स्पष्ट गर्न चाहन्छु,’ उनले भनेका छन्।

साथै न्यायापालिकाप्रति अनावश्यक टिप्पणी नगर्न पनि उनले आग्रह गरेका छन्।

यस्तै दसैं, तिहार,  छठ लगायतका चाडपर्वले नेपाली समाजमा एकता र आपसी सद्भाव कायम राख्ने प्रधानन्यायाधीश जबराको अपेक्षा छ।

नेपाली समाजमा विविधताका बीच एकता कायम गरी सामाजिक ऐक्यवद्धता प्रवर्द्धन गर्न यी चाडपर्व महत्वपूर्ण आधार बन्दै आएको प्रधानन्यायाधीश राणाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।