खसीबोकाको बिक्री कम हुँदा व्यापारी निरास

 काठमाडौँ उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्। कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका हुन्।

कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दसैँ मनाउन गएकोले काठमाडौँमा खसीबोकाको व्यापार कम भएको व्यापारीहरु बताउँछन्।

खसीबोकाको व्यापारमा काठमाडौँका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भए पनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरुले परलमोल नै उठाउन नसकेको उनीहरुले गुनासो गरे।

काभ्रेबाट खसीबोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए। गत वर्ष ३ सय खसीबोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अष्टमीसम्म सय वटा बोका बेच्न बाँकी रहेको बताए।

‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन। सबै जना गाउँ गएको हो कि खाने मान्छे नै नभएको हो?’, व्यापारी लामाले भने, ‘महंगोले पनि होला। मैले साढे तीनसय ल्याएको थिएँ। अझै एक सय वटा बाँकी छ। पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ। यसपालि सय वटा बाँकी नै छ।’

त्यस्तै धादिङबाट खसीबोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाईंले पनि गत वर्षको जस्तो व्यापार नभएको बताए।

उनले यस पटक खसी किनेको परलमोल नै उठाउन हम्मेहम्मे परेको गुनासो गरे। उनले कोरोनाका कारण ग्राहकहरुको खरिद शक्ति नभएको अनुमान लगाए। किन्न आएका ग्राहकहरुले मूल्य थोरै दिने गरेको उनले सुनाए।

‘पहिला महंगो भयो, अहिले आएर घट्यो। त्यसैले यताका व्यापारीहरु सबै गाउँमा पसे। गाउँमा ६५० भयो, व्यापारीहरुमा नै प्रतिस्पर्धा भयो’, व्यापारी चौलागाइँले भने, ‘पोहोर आजका दिनसम्म खसी किन्नेहरुले झम्टिएर लैजान आइपुग्थे। यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन। अहिले २२–२५ हजारको खसीलाई १४ हजार दिन आउँछन्। हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ।’

उनले कोरोना महामारीले गर्दा खसीबोका बिक्री वितरण हुन नसकेको बताए। बाहिरबाट खसीबोका र च्यांग्रा बिक्री गर्न काठमाडौँ आएका व्यापारीहरु चाहे जस्तो व्यापार नहुँदा निरास देखिएका छन्।