तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्।
तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन्।
पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन्।
अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रवार युरोपेली सङ्घ र ब्रिटेनले तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने तर सञ्चारको ढोका खुल्ला राख्ने जनाएका छन्।
तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिए अनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन्।
तर लडाइँमा सामेल प्रतिरोधी फौज यसलाई अस्वीकार गर्छन्।
उक्त समूहका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताए।
बीबीसीलाई पठाएको भिडिओ सन्देशमा उनले दुवै पक्षमा क्षति भएको बताएका छन्।
“अहिले हामी अप्ठेरो परिस्थितिमा रहेकोमा कुनै आशङ्का छैन्। हामी तालिबानको आक्रमणमा परेका छौँ। तर हामी आत्मसमर्पण गर्दैनौँ। हामी अफगानिस्तानको पक्षमा उभिएका छौँ।”
काबुलको उत्तरमा रहेको सो उपत्यका अफगानिस्तानको सबैभन्दा सानो मध्ये एक प्रान्त हो।
तालिबानको हातमा नपरेको यो एउटै मात्र अफगान प्रान्त हो।
पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागत रूपमा नै तालिबान विरोधी गढ हो ।
त्यहाँ डेढ लाखदेखि दुई लाख मानिसको बसोबास छ।
पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन्।
उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन्। र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ।
“यो गुरिल्ला युद्धका लागि उपयुक्त स्थान हो तर यो रणनीतिक छैन,” बीबीसी विश्व सेवाका पत्रकार हरून शफीकी भन्छन्।
“न यो कुनै बन्दरगाहको नजिक छ, न यहाँ कुनै उद्योग छ, न त यसले देशको कुल गार्हस्थ्य उत्पादनमा टेवा पुर्याउँछ।”












