अध्यादेशको महाभारत

राम लोहनी: महाभारतको युद्ध सक्किसकेपछि अश्वत्थामाले द्रौपदीका छोराहरू र दाईहरूसमेतलाई सुतेको ठाउँमा मारिदिएपछि पाण्डवहरू अश्वत्थामालाई खोज्दै गए। पछि पछि आउँदै गरेका पाण्डवलाई देखेर अश्वत्थामाले ब्रह्मास्त्र हाने। अश्वत्थामाले हानेको ब्रह्मास्त्रलाई रोक्न अर्जुनले पनि ब्रह्मास्त्र हाने। ब्रह्मास्त्रहरूको टकराहटले सारा ब्रह्माण्डलाई असर पार्न थाल्यो। सृष्टि नै सङ्कटमा पुग्यो। देवताहरूको बैठक बस्यो। ब्रह्मास्त्रलाई फिर्ता लिनु पर्ने सबैको राय रह्यो। दवाब थाम्न नसकेर अर्जुनले ‍ब्रह्मास्त्र फिर्ता लिए। तर अश्वस्थामाले फिर्ता लिन मानेनन्। किनभने उनलाई फिर्ता लिनै आउँदैनथ्यो। Do लाई undo गर्न नआउने भैसकेपछि अश्वत्थामाले ब्रह्मास्त्र उत्तराको गर्भतिर फर्काएदिए। ब्रह्मास्त्र सोझै उत्तराको गर्भमा खस्यो र गर्भस्थ बालकको गर्भभित्रै मृत्यु भयो। उत्तराले मृतबालक (still born) लाई जन्म दिइन्।
महाभारतमा गर्भबाट थरिथरिका वस्तु जन्मिने कथाहरू पाइन्छन्। गान्धारीले चौबिस महिनाको गर्भपछि बल्लबल्ल एउटा मासुको डल्लो जन्माइन्। त्यही मासुको डल्लोलाई टुक्रा पारेर व्यासले सय भाइ छोरा र एक बहिनी तुल्याइदिए। कृष्ण पुत्र शाम्बले नक्कली गर्भवतीको रूप धारण गर्न बेरेको पटुकाबाट फलामको मुसल जन्म्यो। त्यही मुसल नै यदुकूलको नष्ट गर्ने झार र स्ययम् कृष्णलाई मार्ने वाणको सियो बन्यो।
अहिले दल विभाजनको अध्यादेश यस्तै दुर्गतिमा पुगेको देखिँदैछ। यो अश्वत्थामाको ब्रह्मास्त्र हो कि अर्जुनको? अर्जुनको भए फिर्ता हुन्छ, अश्वस्थामाको भए गर्भमा जन्मन लागेको शिशुको हत्या गरेरै छाड्छ। त्यसलाई ब्युँताउँन कुनै “कृष्ण” को आवश्यकता पर्न सक्छ। कृष्ण गुजरातस्थित द्वारकाबाट बोलाउनु पर्ने होला शायद!
गान्धारीको गर्भबाट निस्केको मासुको डल्लो हो भने कुनै व्यास आएर टुक्रा नपारुन्जेल त्यसमा प्राण भर्रिने छैन। अप्राकृतिक रूपले लामो समयसम्म गर्भमा बसेको र ढुङ्गाले बाहिरबाट गर्भमा प्रहार गरेपछि निस्केको मासुको डल्लाबाट कदाचित् दुर्योधनको जन्म भयो भने पक्कै पनि महाभारत भएरै छाड्छ।
शाम्बको पटुकाबाट निस्केको मुसल रहेछ भने त्यसलाई समाप्त पार्न जति घोटे पनि अन्तिममा सियो त बाँकी रहन्छ नि। मुसल घोटेर निस्केको फलामको धूलो मिश्रित पानि समुद्र (समुद्र नभए नदी वा ताल) मा बगाइदिनु पर्छ। बाँकी सियो पनि समुद्रा (नदी वा ताल) मा बगाइदिनु पर्छ। तर फलाम हो, त्यो नष्ट हुँदैन। प्रकृतिले चाह्यो भने फलामको धूलोबाट वनस्पति उम्रिन्छ र त्यही वनस्पति कालान्तर आफू-आफूलाई हानेर सिद्धिन्नको लागि लाठाको ‍रूपमा उपयोगमा आउँछ। त्यो लाठा त्यही मुसलको धूलोबाट पैदा भएको हो भन्ने सखाप हुनेलाई थाहा हुँदैन। तर सखाप भने भएरै छाड्छ। डा. लोहनीको फेसवुक वालबाट ।