महाधिवेशनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

 आगामी १४औं महाधिवेशनका विषयमा छलफल गर्न आज पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ।

तीन दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका महाधिवेशनकै विषयमा छलफल चलिरहेको छ। महाधिवेशनको मिति सार्ने कि नसार्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरुले महाधिवेशनको मिति केही सार्नुपर्नेमा धारणा राखेका थिए। केहीले मंसिरमा गर्नुपर्नेमा जोड दिएका छन् भने केहीले दशैं अघि गर्नुपर्ने धारणा राखेका छन्।

क्रियाशील सदस्यता विवादले वडा अधिवेशन स्थगित गरिएको थियो। त्यसले गाउँ तथा नगर अधिवेशन पनि प्रभावित भएको छ। यसको पनि नयाँ मिति तोक्ने विषयमा बिहीबार र शुक्रबार छलफल भएको थियो।

आज पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

आज बस्ने बैठकमा पनि वडा अधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल हुने भएको छ। त्यससँगै गाउँ र नगर अधिवेशन तथा क्षेत्रीय अधिवेशनका विषयमा पनि छलफल हुने उनले बताए।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ। तर, वडा अधिवेशन स्थगित रहेकाले महाधिवेशन पनि प्रभावित हुने देखिएको छ।

त्यसका विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ। महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।