७२ घण्टाभित्र तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको प्रतिवेदन, कूटनीतिक कर्मचारी उद्धारका लागि अमेरिकाले तीन हजार सैनिक पठायो

 तालिवान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायको एक ब्रिफिङले गरेको छ ।

गुप्तचर निकायको उक्त स्रोतलाई उध्दृत गर्दै सीएनएनले समाचारको पुष्टि गरेको छ । ‘तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र तालिवानलाई एक्ल्याउन सक्छन् । तर, यसको अर्थ यो होइन कि उनीहरु राजधानभित्रै प्रवेश गर्न सक्नेछन्’ सीएनएनले लेखेको छ ।

यही सम्भावनालाई ध्यानमा राख्दै अमेरिकाले काबुलस्थित आफ्नो दूतावासलाई संवेदनशिल सामग्रीहरु नष्ट गर्न निर्देशन दिएको छ । ती सामग्री नष्ट नगर्दा तालिवानले प्रपोगान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले यस्तो निर्देशन दिएको जनाइएको छ ।

तालिवानले रणनीतिक र व्यापारिकरुपमा महत्वपूर्ण दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जामा लिएपछि अमेरिकाले उक्त अनुमान गरेको हो । तालिवान विद्रोहीले शुक्रबार एकैदिनमा ६ सहर कब्जा गरेका छन् । अफगानिस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानीलाई तालिवानले कब्जामा लिएका छन् ।

तालिबानको आक्रमण तथा नियन्त्रण तीव्र गतिमा बिस्तार हुँदै गर्दा अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान पुगेको छ । कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट बाहिर लैजान सहयोग गर्नका लागि लागि अमेरिकी सैनिकको टोली पुगेको हो ।

अमेरिकाले शुक्रबार कूटनीतिक तथा अरु व्यक्तिहरुलाई उद्धार गर्नका लागि तीन हजार सैनिक पठाएको हो । उनीहरु सबै हप्ताभरमा फिर्ता हुने जनाइएको छ ।

अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका कर्मचारीहरुलाई संवेदनशील कागजात तथा सामग्रीहरु ध्वस्त पार्नका लागि उपकरणको व्यवस्था गरिएको जानकारी गराएको छ । विपक्षीहरुले प्रोपोगाण्डाका लागि प्रयोग गर्न सक्ने सामग्री ध्वस्त पार्न उपकरण उपलब्ध भएको जानकारी अमेरिकाले गराएको हो ।

बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६०० सैनिक पठाउने तयारी गरेको छ । यस्तै जर्मनीले जस्तै निकै कम मात्रै कर्मचारीहरु दूतावासमा राख्ने तयारी बेलायतको छ । डेनमार्क र नर्वेले भने अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।

बिद्रोहीले आफ्नो नियन्त्रण क्षेत्र बिस्तार गर्दै गर्दा हजारौँ मानिस बिस्थापित भएका छन् । तस्बिर : गेट्टी इमेज

ग्रामीण क्षेत्रपछि शहरी क्षेत्रमा पनि तालिबानले नियन्त्रण कायम गर्दै गर्दा विभिन्न देशले आफ्ना कूटनीतिक कर्मचारी तथा नागरिकहरुलाई फिर्ता लैजान हतारो गरिरहेका छन् ।

शुक्रबार तालिबान बिद्रोहीले लोघर प्रान्तको राजधानी पुल–ए–आलम नियन्त्रणमा लिएका छन् । सो शहर देशको राजधानी काबुलबाट ८० किलोमिटर मात्रै पर रहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अफगानिस्तानको अवस्था तीव्र गतिमा खराब बन्दै गएको र यसको प्रभाव गम्भीर हुने बताएका छन् ।

बढ्दै गएको हिंसाका कारण अहिलेसम्म दुई लाख ५० हजार भन्दा धेरै मानिस विस्थापित भएका छन् ।

अमेरिकीसहित नेटोसँग आवद्ध विदेशी सैनिकको अन्तिम समूह फिर्ता हुने क्रम जारी रहेसँगै तालिबानले आफ्नो पकड बिस्तार गरिरहेको छ । अगस्ट अन्तिमसम्ममा अमेरिकी तथा सेप्टेम्बर ११ सम्ममा सबै विदेशी सैनिक फिर्ता हुने तालिका छ ।

२० वर्षपछि अमेरिकीसँगै सबै विदेशी सैनिक फिर्ता हुने भएपछि तालिबानले गरिरहेको प्रभाव बिस्तारले मानवअधिकारको पक्षमा प्राप्त पछिल्लो प्रगति गुम्ने जोखिम बढेको छ ।

तालिबानले शुक्रबार अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार र त्यसको नजिक रहेको लश्कर गाह नियन्त्रणमा लिएको छ । यस्तै पश्चिमी क्षेत्रको हेरातमा पनि कब्जा जमाउन सफल भएको छ । अफगानिस्तानका एक तिहाई प्रान्तीय राजधानीमा तालिबानको नियन्त्रण छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले पछिल्लो घटनाक्रम गम्भीर चासोको विषय रहेको बताएका छन् । तर राजधानी काबुल भने जोखिममा नरहेको दाबी उनले गरे ।

अमेरिकाको पछिल्लो गुप्तचर अनुमान अनुसार तालिबान बिद्रोहीले ३० दिन भित्र काबुल नियन्त्रणमा लिने प्रयास गर्ने छन्।