फेरि मनसुन सक्रिय हुँदै , लगातार वर्षाको सम्भावना

मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद वरुण पौडेलका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने क्रममा देखिएको छ ।

मौसमविदले पौडेलले भने, ‘केही कमजोर रहेको मनसुनी गतिविधि सक्रिय हुने क्रममा छ । अहिले पूर्व र पश्चिमको तराई क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो तिर मनसुनी गतिविधि सक्रिय पार्ने प्रणाली माथिल्लो क्षेत्रमा पनि सर्ने देखिन्छ ।’

अबको केही दिन देशभर नै सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताए ।

‘आज पनि दिनभर र राति धेरै स्थानमा बदली भइ हल्कादेखि मध्यम र केही स्थानमा भारी वा धेरै भारी वर्षाको सम्भावना छ’, मौसमविद पौडेलले भने ।

अबको हप्ता देशभर मनसुन सक्रिय हुने भएकाले केही स्थानमा लगातार वर्षा अर्थात झरी पर्ने सम्भावना पनि रहेको उनले बताए ।