तत्काल संविधान नसच्याए संविधान च्यात्ने दिन आउँदै छ: पूर्वमन्त्री विष्ट

राजतन्त्र पक्षधरहरुले संविधान च्यात्ने चेतावनी दिएका छन्। सोमबार काठमाडौँमा राजतन्त्र र हिन्दू राज्य पुनः स्थापनाको माग गर्दै तत्काल संविधान सच्याउन राजतन्त्र पक्षधर अभियन्ताहरुले माग गरेका हुन्।

‘राष्ट्रिय शक्ति नेपाल’को आह्वानमा भएको प्रदर्शन उपत्यकाबाट विभिन्न ठाउँबट सुरु भई थापाथली, माइतीघर मण्डला हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं राजतन्त्रको पक्षमा वकालत गर्दै आएका केशरबहादुर बिष्टले आफूहरु शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रेको बताउँदै सहज रुपमा माग पूरा गर्न आग्रह गरे।

उनले नेपालको पहिचानका लागि राजतन्त्रको उपस्थित अपरिहार्य भएको बताए। उनले भने, ‘हामी ढुंगाले हानेर आन्दोलन गर्दैनौं। हामीलाई लखेट्ने आधार छैन। धेरै राजा आए तर खास राजाको मात्र नाम छ। देशको संकार मेट्न विदेशीको गोटी भनेर नेताहरु लागेका छन्।’

उनले नेपालको जस्तो शालिन राजा विश्वमा कहीँ नभएको उल्लेख गर्दै भने, ‘आफ्नो सिंहासन छाडेर नागारजुनको जंगलमा बस्न जाने राजा अन्त कहीँ पाइँदैन। अहिलेका नेताहरुले बेइमानीको सीमा नाघेका छन्। तातो पानीमा नुहाउन पनि सिंगापुर जाने गरेका छन।’

उनले राप्रपा अध्यक्ष कमल थापाप्रति लक्षित गरेर राजतन्त्रको पक्षमा लागे जस्तो गरेर अवसर आउँदा संविधानको गुनगान गाउँदै हिडेको आरोप लगाए। ‘संविधान च्यात्नु पर्ने अवस्थामा आउन सक्छ। यो संविधान लागू हुनुअघि र पछि म आन्दोलनमा सहभागी भएको छु। संविधान ठीक छैन, सँगै आन्दोलन गरेको नेता त संविधान उत्कृष्ट छ भन्दै भोलिपल्ट नै उपप्रधानमन्त्री पो भएछ, बिष्टले भने।

पछिल्लो समय देशका प्रमुख सहरहरुमा राजतन्त्रको पक्षमा दैनिक जसो आन्दोलन हुँदै आएको छ। आइतबार हेटौंडामा राजतन्त्र पक्षहरुले विशाल प्रर्दशन गरेका थिए।