अर्घाखाँचीका छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया पार्वती पाण्डे गत फागुन ६ गते घरमा खाना पकाउने क्रममा जलिन । उपचारको टुंगो नलाग्दै भोलीपल्टै उनले संसार छोडिन् । उनलाई तत्काल मिसन अस्पताल तानसेन लगिए पनि २४ घण्टा नपुग्दै उनको मृत्यु भयो ।
यस्तै, गत पुस २९ मा बर्दिया मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोकस्थित घरको बरन्डामा आगो तापिरहँदा आगो सल्किएर चिन्की थरुनी घाइते भइन् । बिहान ३ बजे आगो सल्किएर घाइते भएकी उनको अस्पतालको टुंगो नलाग्दै बिहान ५ बजे मृत्यु भयो । यी दुइ प्रतिनिधिमुलक घटना मात्रै हुन् । आगलागीमा परी घाइते भएका अधिकांश बिरामीहरूले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ ।
अस्पताल अभाव र प्रभावकारी उपचार अभावमा अधिकांश आगोले जलेकाहरू ज्यान गुमाउनु परेको छ । कोही घाइतेको जलेको केही दिनभित्रै मृत्यु हुन्छ भने कतिपयको जटिल रोग लागेर केही समयपछि मृत्यु भएको देखिन्छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सन् २०१७ मा एक प्रतिवेदन प्रकाशित गर्यो । उक्त प्रतिवेदनअनुसार नेपालमा वर्षेनि ५५ हजारभन्दा बढी नागरिक नलेर घाइते हुने गरेका छन् । तीमध्ये दुई हजारभन्दा बढी उपचार अभावमा मृत्युबरण गर्न बाध्य छन् ।
वरिष्ठ प्लास्टिक सर्जन प्रा. डा. शंकरमान राईकाअनुसार शरीरको ३० प्रतिशतभन्दा बढी भाग गहिरो गरी जलेको छ भने अनिवार्य शल्यक्रिया गर्नुपर्छ । यस क्रममा जलेको छाला सबै फाली नयाँ छाला प्रत्यारोपण गर्नुपर्छ । जलेको बिरामीलाई तत्काल चिसो पानीमा राखेर अस्पताल ल्याउनुपर्ने डा. राई बताउँछन् । आगोले जलेका बिरामीहरूको प्राथमिक उपचारबारे जानकारी नहुँदा पनि समस्या भइरहेको डाक्टर राइ बताउँछन् । उनी भन्छन्, ‘धेरै मानिसलाई आगोले जलेको बिरामीको प्राथमिक उपचारबारे थाहा छैन । लाई अस्पताल लैजानुअघि कस्तो प्राथमिक उपचार चाहिन्छ र अस्पताल पु¥याइएको २४ घण्टाभित्र के गर्नुपर्छ भन्ने ज्ञान छैन । यसैकारण आगोले जलेका धेरै बिरामीहरूको ज्यान गइरहेको छ ।’
उनकाअनुसार जलनको सबैभन्दा प्रभावकारी प्राथमिक उपचार पानी हो । ‘जलेको घाउमा ३० मिनेटसम्म चिसो पानी खन्याउनुपर्छ । त्यसपछि नजिकैको स्वास्थ्य संस्थामा लगेर सलाइन पानी दिनुपर्छ । २४ घण्टासम्म यत्ति गर्न सक्ने हो भने पनि धेरैको ज्यान जोगाउन सकिन्छ ।’ डा. राइले भने । जलेका बिरामीका लागि काठमाडौंबाहिर अस्पताल नै छैन । पाल्पा र नेपालगञ्जलगायतका केही स्अस्पतालमा मात्रै बर्न वार्डहरू त छन् । तर, जलेका बिरामीको लागि सघन उपचार सम्भव छैन ।
काठमाडौंमा पनि प्रभावकारी उपचार छैन । काठमाडौंमा जलेको उपचार गर्ने अस्पतालहरूमा वीर अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पताल, केएमसी अस्पताल, कीर्तिपुर अस्पताल र शिक्षण अस्पतालमा बर्न वार्ड छन् । यी अस्पतालमा जलेका बिरामीहरूको छुट्टै उपचार हुन्छ । तर, तिनै अस्पतालमा पनि दक्ष जनशक्ति र प्रयाप्त प्रयाप्त स्रोत साधन नभएर प्रभावकारी उपचार नभको अस्पताल नै बताउँछन् ।
जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा सुख्खा मौसमसँगै बैशाख लागेपछि देशभरी आगलागी तथा डढेलोका घटनाहरू बढ्दै गएका छन् । आगलागीमा परेर जलेकाहरूको उपचारमा भने समस्या भइरहेको छ ।
गृहमन्त्रालय मातहतको विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता आगलागी र डढेलोको घटना डरलाग्दो छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० फागुन १ गतेदेखि २०८१ वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९८४ घटना भएका छन् । यी घटनामा परी ४३ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी घाइते भएका छन् ।
प्राधिकरणले पछिल्ला केही घटना अझै अद्यावधिक गर्न बाँकी रहेकाले क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।