सिन्धुली एमालेमा युवा नेतृत्व, अध्यक्ष-उपाध्यक्ष र सचिवमा क्रमश: महेन्द्र देव श्रेष्ठ, कर्ण घिसिङ र नवराज थिङ निर्बाचित

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेशनबाट युवा नेतृत्व चयन भएको छ । नयाँ कमिटीको अध्यक्षमा महेन्द्र देव श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की लाई १३७ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठले ४४१ मत प्राप्त गर्दा पराजित कार्कीले ३०४ मत मात्र प्राप्त गर्नु भएको छ । सातौं अधिवेशनमा भने कार्कीले पुर्व प्रदेशमन्त्री समेत रहनुभएका प्रदिप कटुवाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यसैगरि, उपाध्यक्षमा कुमार प्यानलका कर्णबहादुर घिसिङ पुनः दोहोरिएर लोकप्रिय नेता बन्नु भएको छ । ५३ मतान्तरसहित घिसिङ विजयी हुनु भएको छ । विजयी घिसिङले ३९४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी खडगबहादुर रजन (धिरज) ले ३४१ मत प्राप्त गर्नुभयो । सातौं अधिवेशनमा पुर्व प्रदेश सभा सदस्य बिनोद खड्कालाई पराजित गर्दै घिसिङ उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, सचिवमा रामकुमार प्यानलका नवराज थिङले ४०१ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नारायण बरालले ३२८ मत प्राप्त गरेर पराजित हुनुभयो । यसअघि कार्यालय सचिव रहेर काम गर्नुभएका नबराजले निर्विरोध सचिवमा चयन हुनुभएका बराललाई ७४ मतान्तरले पराजित गराउनु भएको हो । बराललाई एमाले केन्द्रीय सदस्य एवम् रामेछाप इन्चार्ज गणेश पहाडी र बागमती प्रदेश सदस्य प्रदीप कटुवाल एवम् शान्तिमान कार्कीको साथ रहेको थियो । पहाडीको दबाबमा बराललाई उमेदवार बनाइएको थियो ।

उपसचिव (खुलातर्फ) कुमार प्यानलका दिपेश बरालले २३५ मत प्राप्त गर्नै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कुमार शर्माले १५६ मत प्राप्त गर्नुभयो । यस्तै, उपसचिवकै उम्मेदवार राजु बरालले १५१ ,टिकाबहादुर देवकोटाले ९७ र शंकर कुमार कार्कीले ४५ मत प्राप्त गर्नु भएको छ ।

उपसचिव (महिला) मा भने श्रेष्ठ प्यानलकी पार्वती भट्टराईले ४८४ मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी मिथुला कुमारी घिमिरेल २२० मत पाउनु भएको छ । केन्द्रीय नेताहरुको आ आफ्नै स्वार्थका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शुक्रबार मतदान भएको थियो । कुल सात सय ८३ मतदाता रहेकोमा ७५४ जनाले मतदान गरेका थिए । सदस्यको मत गणना आइतबारबाट गरिने निर्वाचनद मण्डलका सदस्य बबिन्द्रलाल मझीले जानकारी दिए ।