एमाले सिन्धुलीको ८ औं अधिवेशन र नयाँ नेतृत्व !

आगामी चैत्र २८ देखी २९ गतेसम्म नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन भैरहदा कार्यकर्ताको मनमा जिज्ञासा पैदा हुने कुरा स्वाभाविक मान्न सकिन्छ । अधिवेशन भनेपछि नेतृत्व चयन देखि आगामी कार्ययोजनासम्मको छलफल हुने थलोको रुपमा लिइन्छ ।
कम्युनिष्ट पार्टीमा बैठक, भेला र अधिवेशन गरिरहँदा कार्यकर्ताको मनमा एउटा जोश जाँगर र क्रियाशिलताका लागि उर्जा पैदा गर्नेे मूख्य थलोको रुपमा यसलाई लिने गरिन्छ ।
अझ भन्ने हो भने अधिवेशन भने पछि नेतृत्वको प्रश्न पनि सँगसँगै आउँने गर्छ भने, नयाँ साथीहरुले कमिटीको जिम्मेवारी प्राप्त गर्ने थलोको रुपमा लिइन्छ । जतिसुकै अरु बिषयमा छलफल गरे पनि, बनावटी कुरा गरेर कस्मेटिक्स योजना बनाएपनि आम जनताको चासो भने ८ औं जिल्ला अधिवेशनबाट नेतृत्व कस्तो आउँछ ? आउने नेतृत्वले सिन्धुलीको कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्छ ? वा आम एमाले नेता कार्यकर्ताको भावना र पार्टी केन्द्रको स्पिडलाई पक्डेर अगाडि बढ्न सक्छ वा सक्तैन भन्नेमै केन्द्रित हुन्छ ।
नेकपा एमाले जस्तो गौरवशाली बिरासत बोकेको पार्टीको नेतृत्व निर्माणमा आम सिन्धुलीवासीको चासो हुन स्वभाबिक हो । पार्टी मात्रै होइन, समग्र जिल्लाबासीको लागि भरोसा योग्य नेतृत्व आइदिए हुन्थ्यो भन्ने हुन्छ ।
हाल राजनैतिक पार्टीप्रति देखिएको बितृष्णालाई पनि न्यूनिकरण गर्दै समग्र जिल्लाको समस्यालाई समाधानका लागि हातेमालो गर्दै अगाडि बढ्ने र पार्टी भित्रका अन्तर बिरोधलाई न्यूनिकरण गर्दै जाने नेतृत्वनैं आजको आबश्यक्ता हो ।
स्वाभाबिकनैं हो– जीवित पार्टीमा राजनैतिक र कार्यशैलिगत अन्तरविरोधहरु हुन्छन् । अन्तरविरोध रचनात्मक हुनुपर्छ तर शत्रुतापूर्ण होइन । तथ्यको आधारमा सत्य स्थापित गरिनु पर्छ । जिम्मेवार ब्यक्तिहरुले होटल, चिया र चौतारामा होइन बैठकमा समस्याको सामाधान खोज्नु पर्दछ । पार्टीभित्र बिघि र पद्धतिलाई बलियो बनाउँदै दण्ड र पुरस्कारको व्यवस्थालाई अभिन्न अंग बनाएर लैजान सक्नु पर्दछ ।
एमालेले अब गठबन्धन गरेर होइन, आफ्नै खुट्टामा उभिन सक्ने बलियो शक्ति निर्माण गर्न जरुरी छ । माक्र्सवादको सिर्जनात्मक प्रयोगगर्दै ठोस परिस्थतिको ठोस विश्लेषण गरेर अगाडि बढ्न जरुरी छ । आज नेकपा एमालेको जिल्ला अधिवेशनलाई जिल्लाबासीले नजिकबाट हेरिरहेका छन् । कतिपय नेता कार्यकर्ताहरु चिन्तित पनि देखिएका छन्– अधिवेशन पछाडिको पार्टी कस्तो हुने हो ? कसरी अगाडि बढ्ने हो ? कस्तो नेतृत्व आउने हो ? यसको जवाफ अब एमालेका समेत कार्यकर्ताहरुले उठाउने बेला भएको छ ।
जिल्ला अधिवेशन नजिकिएका बेला एकथरी लाई चिन्ता छः राम्रो, योग्य र सबैलाई एकतावद्ध गरेर लैजान सक्ने र सिन्धुली जिल्लामा पहिलो पार्टी बनाउन सक्ने नेतृत्व आइदिए हुन्थ्यो भन्ने कुरा उठ्न थालेको छ भने अर्को थरी लाई म कसरी नेतृत्वमा पुगौं, अहिले नेतृत्वमा पुग्न सकिएन भने आउँदो ८४ मा सांसद, मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष एवम् समन्वय प्रमुख बन्न पाइन्न भन्ने चिन्ता छ । अर्को थरिलाई मैले भनेको नेतृत्व कसरी ल्याउनु भन्ने चिन्ताले सताइरहेको छ ।
सिन्धुली एमालेमा व्याप्त यी सबैको भावनाको कदर गर्दै पार्टी कार्यकर्ता र जिल्लाबासीकोसमेत मन जित्न सक्ने नेतृत्व आजको आबश्यक्ता हो । नेकपा एमालेका कर्याकर्ताले पार्टी लाई शसक्त ढंगले हाक्ने र जिल्लाबासीको भावनाको कदर गर्न सक्ने नेतृत्व चयन गरुन धेरै धेरै शुभकामना ।