कांग्रेसमा साढे ८ लाख क्रियाशील सदस्यमध्ये चार लाख ४२ हजार ८१६ नयाँ

नेपाली कांग्रेसमा क्रियाशील सदस्य झण्डै साढे ८ लाख पुगेको छ । १३ औं महाधिवेशनको क्रियाशील सदस्य संख्यालाई दोब्बर (१० लाख) पुर्याउने भनिए पनि ८ लाख ४६ हजार ७२९ पुगेको छानविन समितिले जनाएको छ ।

छानविनकै क्रममा क्रियाशील सदस्यको संख्या केही थपघट हुने समितिका एक सदस्यले जानकारी दिए । साढे आठ लाख क्रियाशील सदस्यमध्ये चार लाख ४२ हजार ८१६ नयाँ हुन् । तर करिव ७० हजारले क्रियाशील सदस्यता नवीकरण नगरेको पाइएको छ । अघिल्लो महाधिवेशनमा चार लाख ७० हजार क्रियाशील सदस्य रहेकामा १४ औं महाधिवेशनका लागि पुराना चार लाख ३ हजार ९१३ जनाले मात्रै सदस्यता नवीकरण गरेका छन् ।

छानविन समिति सदस्य प्रदीप पौडेलले ठूलो संख्यामा क्रियाशील सदस्यता नवीकरण नहुनु समीक्षाको विषय भएको बताए । ‘नयाँ सदस्यता पाउन कांग्रेसमा निकै गाह्रो भइरहेका बेला ठूलो संख्यामा सदस्यता नवीकरण नुहुनु हाम्रा लागि समीक्षाको विषय हो,’ समितिको प्रवक्ता रहेका पौडेलले भने, ‘किन पुराना साथीहरु नवीकरण गर्न अनिच्छुक भए, पार्टीले यसमा छलफल गर्नैपर्छ ।’

उनका अनुसार पुराना क्रियाशीलमध्ये मृत्यु भएका र पार्टी छोडेकाको तथ्यांक कांग्रेससँग छैन ।

कांग्रेसले विधानमा सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरे पनि क्रियाशील सदस्य भने जम्मा २३ प्रतिशत मात्र महिला छन् । कुल साढे ८ लाख क्रियाशील सदस्यमध्ये करिब ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला छन् ।