पर्साको बीरगञ्जमा असारे विकास ! दैनिक १ अर्ब रुपैयाँ सकिँदै, काम नसक्दै पनि ‘भुक्तानी’

पर्सामा अहिले असारे विकास योजनाको कामले तीब्रता पाएको छ ।

पर्साको वीरगंज महानगर, तीनवटा नगरपालिका र १० वटा गाउँपालिकामा सडकमा ग्राभेल पुर्ने,माटो भर्ने, ढलान, कालोपत्रे, धर्मशाला निर्माण, मन्दिर तथा मस्जिद निर्माणलगायतको काम धमाधम भइरहेका छन् ।

वास्तविक विकासको असारे बजेट सिध्याउन जिल्लाका विभिन्न दलका राजनीतिक दलका अगुवा, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदारहरु सक्रिय रहेको बुझिएको छ ।

काम गर्ने अन्तिम समय सीमा सकिने दुई दिन बाँकी रहँदा दैनिक पर्सामा करिब १ अर्बभन्दा बढीको खर्च भइरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रमुख कोष तथा लेखा नियन्त्रक रुद्र कार्कीका अनुसार सोमबार मात्रै वीरगंज महानगरलाई ३२ करोड भुक्तानी दिइएको बताए ।

उनका अनुसार अहिले काम गर्ने र भुक्तानी दिने कामको चाप अत्यधिक रहेकोले कुन पालिकाकाले कति खर्च गर्यो भने यकिनसाथ भन्ने अवस्था नरहेको बताए ।

उनले साउनको पहिलो सातामा सबै पालिकाको केन्द्र र प्रदेश सरकारले कुल बजेटको कति खर्च गरेर तथ्याक सार्वजनिक गर्ने कार्यालयको तयारी रहेको बताए ।

असार २४ गतेसम्म चेक भुक्तान गर्ने समय सीमा भएकोले सबै स्थानीय तहमा अहिले विकासको नाममा झारा टार्ने काम भइरहेको पर्सा,धोबिनी ४ का सुरेश कुर्मी बताउँछन् ।

वीरगंज महानगरपालिकाको विपी उद्यान, नेशनल ट्रेडिङदेखि ब्रह्मचोकसम्म सडक निर्माण कार्य भइरहेको छ भने कतिपय काम वर्षामा पनि जारी रहेको देखिएको छ । वर्षामा निर्माण कार्य गर्दा बलियो नहुने सर्वसधारणहरुको भनाई छ ।

‘वर्षाले जमीन गिलो भएको बेला ढलान गर्दा सडकको अवस्था के होला सहजै मापन गर्न सकिन्छ ।’-वीरगंज १ छपकैयाका स्थानीय बासिन्दा रेयाल आलमले भने ।

महानगरको विभिन्न वडामा असारे बजेटले तिव्रता पाएको उनको भनाई छ । असारे विकासको चटोरको कारण २४ घण्टाभन्दा पनि कम समय रहेकोले करोडौं मूल्यका योजनाहरूको काम पछिल्लो सातामा मात्रै शुभारम्भ गरिएको छ ।

कतिपय योजनाको काम पुरा नहुँदा शुरुमै भुक्तानी गरी काम सम्पन्न गराउने पनि उपभोक्ता समिति/ठेकेदार र पालिकाबीच आन्तरिक सहमति समेत भएको छ ।

यस वर्ष असारको पहिलो सातादेखि लगातार पानी परिरहेकोले निकासा दिएर भुक्तानी पछि पनि काम गर्ने गरी काम भइरहेको छ ।

सडकको प्राविधिक रिपोर्टदेखि अन्य आवश्यक कागजात तयारी गरी पेश गरेर चेकसमेत बनिसकेको स्रोतको दाबी छ । धोबिनी गाउँपालिकामा टावरलाइट जडान नभए पनि ठेकेदारले भुक्तानी पाइसकेको स्रोतले जनाएको छ ।

लङ्गडी चोकमा टावरलाइटको काम भइरहेको अवस्थामा भुक्तानी हुनुले सबैलाई आश्चर्यचकित पारेको छ । टावरलाइटको बेस दुई दिन पहिले मात्र ठेकेदारले हतार हतारमा तयार पारेको थियो । तर सो बेस कमसल भएपछि भत्काएर पुनः बेस तयार भइरहेको छ ।

स्थनीय तहहरुले बजेट सक्न आवश्यक नै नभएका सामानहरू खरीद गरेर थुपारिरहेका छन् । धोबिनी गापाले गत वर्ष १४ लाख रुपैयाँको फर्निचर खरीद गरेको थियो भने यस वर्ष पनि फर्निचर खरीद गरेर भण्डारण गरेको छ ।

पकहामैनपुर गापाको स्टोरमा मंगलबार बिहान मात्रै तीन ट्रक सामान खरिद गरी ल्याइएको छ ।

निर्माण योजनाहरु कहिले सक्ने, प्राविधिक प्रतिवेदन मूल्याङ्कन तथा ल्याब परीक्षण रिपोर्ट कहिले र कसले दिने भन्ने अन्योलताबीच असारे विकास फ्रिज नहोस् भनेर अग्रिम भुक्तानी दिने गरेको ठेकेदार स्रोतले जनाएको छ ।

छिपहरमाई गापाको भिस्वा माविदेखि भारतीय सिमानाको सिकटा बजार सम्म २९७ मिटर सडकको ढलान कार्य भइरहेको छ । गापाको बजेटमा गुनगुन कन्स्ट्रक्शन छिपहरमाईले सो निर्माण कार्य मूल्य अभिवृद्धि करसमेत रु ५३ लाख ४२ हजारमा गर्दैछ ।

मंगलबारसम्म सडक ढलान कार्य ३० मिटरसम्म मात्र भएको छ । निर्माण कार्य वर्षाले समेत रोक्न नसक्दा दिनरात काम भइरहेको छ ।

तोकिएको समयमा कुनै पनि हालतमा कार्य सम्पन्न नहुने देखिएपनि असारे विकास भएकोले जसरी पनि काम सकाउने चटारो देखिएको छ ।