बर्षाका कारण ३३ जिल्लाका ९९ ठाउँमा बाढी

मेलम्चमिा आएको बाढीको दृश्य । फोटो रवि खड्काः प्रदेशखबर

अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा गरी ९९ वटा बाढी, पहिरो आएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी, पहिरो अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका हुन् ।

बाढी, पहिरो र डुबानमा परी पाल्पामा १ जना, कास्कीमा १ जना, सिन्धुपाल्चोक १ जना, सिन्धुलीमा १ र डोटीमा १ जना गरी जम्मा ५ जनाको मृत्यु भएको छ।  बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जना र जाजरकोटमा ७ जना गरी १४ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

यस्तै वाढीमा परेको सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको प्रहरीले उद्दार गरेको छ । बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् ।

५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६२ वटा घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ ।