चीनको सिनोफार्मसँग ४० लाख खोप किन्ने सरकारको निर्णय

सरकारले पटकपटकको प्रयासपछि केही विवादबीच चीनको सिनोफार्म कम्पनीसँग कोरानाविरुद्ध भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ। सरकारका एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो।

सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि सरकारले उक्त कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो। ‘नेपालको लामो कूटनीतिक प्रयासपछि सिनोफार्मले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको थियो। त्यसका आधारमा सरकारले त्यो कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो। अब त्यसकै आधारमा खोप खरिद प्रक्रिया अघि बढ्छ।’

तर खोप ‘नन डिस्कोलजर एग्रिमेन्ट’ अन्तर्गत यो खरीद प्रक्रिया अघि बढाएपछि केही स्वास्थ्य अधिकारीहरुमै केही आशंका उत्पन्न भएको छ। खोपको मात्रा, मूल्य र आपूर्तिको समयसीमाबारे खोप खरिद प्रक्रियामा संलग्न सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन्। यो खोप खरिद प्रक्रियामा नेपाल र चीन सरकारबीच र खोप उत्पादक कम्पनीसँग गरी दुई खाले सम्झौता हुँदैछ।

स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार यस अघि विभागबाटै खोप खरीदका लागि उक्त कम्पनीलाई जेठ ११ गते पत्र पठाइएको थियो। तर उक्त कम्पनीले खोपको मूल्य गोप्य राख्नुपर्ने शर्त राखेको थियो। दातृ निकायबाट प्राप्त रकम खोप खरिदमा लगानी गर्नुपर्ने बाध्यताका कारण खोपको मूल्यलगायत विषय गोप्य राख्न नमिल्ने अडान लिएका थिए।

त्यसपछि सिनोर्फामले कुनै प्रतिक्रिया जनाएको थिएन। तर खोप खरिदलाई लिएर सरकार चर्को दबाबमा परेको थियो। त्यसपछि परराष्ट्र मन्त्रालय, उपप्रधानमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिबाटसमेत खोपका लागि अनुरोध गएपछि सिनोर्फामले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको हो। यसमा सबैभन्दा ठूलो प्रभाव राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई गरेको अनुरोध भएको स्वास्थ्य अधिकारीहरुले बताउँछन्।