कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।
कोभिड १९ को दोस्रो भेरियण्टका केही बिरामी सिन्धुलीमा देखिन थालेका थिए । त्यो पनि मेरै नगरपालिका भित्रको भएकाले पनि म अत्यन्त सचेत थिएँ । पहिलो लहरको कोरोनाको संक्रमण कम भएपछि नागरिकहरुले स्वास्थ्यका न्यूनतम मापदण्डहरु पनि पालन गर्न छोड्नुका साथै ब्यक्तिगत दुरी पनि कायम रहेन ।
नियमित रुपमा सम्पन्न हुन लागेका विकास निर्माणका योजनाहरुको अबलोकन र जनताका कामहरुलाई मैंले कहिल्यै रोकिंनँ, अर्थात कार्यालयमा बसेर सबै सेवा प्रवाह गरिरहें । यसैक्रममा नगरपालिका भित्रका केही कर्मचारीमा कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण देखिएपछि मलाई पनि शंका लाग्यो । किनकी ती कर्मचारीसँगै म पनि फिल्डमा गएको थिएँ ।
गएको बैशाख २१ गते मैंले पनि कोभिडको दोस्रो भेरियण्टको संक्रमण भयो कि भन्ने शंका लागेर स्वाव दिएँ । २४ गते रिपोर्ट आउँदा पोजेटिभ देखियो । रिपोर्ट पोजेभिट आएपनि मलाई संक्रमणको कुनै पनि लक्षण थिएन । मलाई केही भएको त थिएन, तर इष्टमित्र र साथीभाईका निरन्तर फोनहरु आइरहन्थे । कतिको त उठाईयो, कतिलाई कलव्याक पनि गरियो । केही साथीभाईलाई फोन गर्न सकिएन होला त्यसका निम्ती क्षमा दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
होम आइसोलेसनमा बसाईका क्रममा स्वास्थ्यलाभको कामना गर्नुहुने पार्टी नेतृत्व, इष्टमित्र र साथीभाई प्रति आभारी छु । उहाँहरुले मेरो स्वास्थ्य र जीवनरक्षाका निम्ती चासो र चिन्त प्रकट गर्नुभयो । मलाई कुनै समस्या नभएपनि मेरा मतदाताहरुमा कोभिडको लक्षणहरु देखियो । उहाँहरु धेरै प्रताडित बन्नु प¥यो । म घरभित्रै बसेर पनि संक्रमितहरुको घरघरमा भिटामिन सि, भिटामिन डी, बि कम्प्लेक्स, जिंक चक्की, क्याल्सियम र सिटामोलजस्ता इम्युनिटी पावर बढाउने औषधीहरु घर घरमा पु¥याउनका लागि मैंले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको थिएँ । उहाँहरुले आफ्नो जिम्मेवारी पनि सही ढंगले पुरा गर्नुभएको छ । त्यस बेला म आफैंलाई ती औषधीहरु बोकेर जनताको दैलोमा जाने चाहना हुँदा हुँदै पनि आफैं संक्रमित भएकाले जान सकिनँ । म तपाईहरुको दैलोमा आउन नसकेपनि तपाईको निरन्तर साथमा रहेको छु ।
त्रसित बनिँदो रहेछ !
कोभिडको संक्रमण बढ्दै जाँदा घरमित्र बसेर सञ्चार माध्यम र सामाजिक सञ्जालको भरपुर उपयोग गरियो । कहिल्यै कुरा नभएका केही साथी भाईसँग पनि सम्वाद भए । दिन बिताउनका लागि सहजै भयो । तर आफैंसँग निरन्तर भेट भएका, कुराकानी भएका साथी भाईको निधनको फोटो र समाचारले भने निकै त्रसित बनायो ।
यही क्रममंै कोरोना पोजेटिभ भएपनि आइसोलेसनमा बसेका आफन्तजन नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरेर घरमा पुगेको तीन दिनपछि निधन भयो । त्यसबेला त के गरौं र कसो गरौंनैं भयो । सामाजिक सञ्जाल र समाचारनैं नहेरौं जस्तो पनि लाग्यो । तर दुबै खोप लगाएकाले लक्षण पनि छैन र मलाई केही पनि हुन्न भन्ने कुरामा म ढुक्क भइसकेको थिएँ । त्यही आत्मबलले मलाई अहिले जनताको माझमा जाने बनाएको छ ।
चिकित्सकहरुले खोप नलगाएका ९० प्रतिशतमा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिन्छभने बाँकी १० प्रतिशतमा जटिल समस्या सिर्जना हुन्छ भन्दै आएकाथिए । मलाई अहिले त्यो कुरा सही लागेकोछ ।
सबैजना घरभित्रै बसौं !
हाम्रो नगरपालिका सिन्धुली जिल्लामा सबैभन्दा बढी संवेदनशिल छ । सबैतिर खुला नाका भएकाले यहाँ हाम्रो एकल प्रयाशले मात्रै केही हुँदैन । कोरोना संक्रमित मात्रै होइन, म सबैजनालाई घरभित्रै बस्न आग्रह गर्दछु । अहिलेसम्म पनि हाम्रो नगरपालिका सबैभन्दा बढी जोखिममा छ । ३२५ जना कोरोना संक्रमित मध्ये १२५ जना निको भइसकेकाछन् । त्यसैले सबैजनाले स्वास्थ्यका मापदण्ड पालना गरेर घरभित्रै बस्दा मात्रै कोरोनालाई परास्त गर्न सकिन्छ ।
समस्या भए वडामा सम्पर्क गरौं
विगत वर्षमा जस्तो यस वर्ष हामीले विकास निर्माणका कामहरु रोकेका छैनौं । स्वास्थ्यका मापदण्डहरु पालना गरेर विकास निर्माणका कामहरुलाई तिब्रता दिइरहेका छौं । हामी विकास निर्माणका कामहरु तोकिएकै समयमा सम्पन्न गर्ने अबस्थामा छौं । त्यसैले पनि अघिल्लो वर्ष जस्तो राहतनैं बाँड्नु पर्ने अबस्था छैन । केही केही जनताले साथी भाईबाट अैचो पैंचो सर सापटीबाट आफ्नो समस्या चलाईरहनु भएको छ । यदी कोही कसैलाई खानपानमैं समस्या छ, जो पिडित बन्नुभएको छ, म उहाँहरुलाई आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न आग्रह पनि अनुरोध गर्दछु । अन्त्यमा कोभिड १९ संक्रमणको महामारीमा आफु पनि बचौं र अरुलाई पनि बचाउने महान उदेश्यको सोच राखेर अगाडि बढ्न म सम्पूर्ण नगरवासीमा अपील पनि गर्दछु । (लेखकः दुधौली नगरपालिकाका मेयर हुनुहुन्छ)