अमेरिकाको माथिल्लो सदनले गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।
तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले भने रोकेको हो । अधिकांश रिपब्किलन सिनेटरले दुई पार्टीका सदस्य रहने विशेष अनुसन्धान आयोग गठन गर्ने प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

आयोगको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको समर्थन प्राप्त भयो । सो प्रस्ताव पारित हुनका लागि फिलबस्टर नियम अन्तर्गत ६० सिनेटरको समर्थन चाहिन्थ्यो । तल्लो सदनमा भएको मतदानमा ३५ रिपब्लिकन सांसदले पक्षमा मतदान गरेका थिए ।
गएको जनवरी ६ मा राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।
सो आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान गएको थियो । ट्रम्पले अझै पनि चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउने गरेका छन्।
तर अदालतहरुले धाँधलीको कुनै प्रमाण नरहेको भन्दै ट्रम्पले दायर गरेको मुद्दा खारेज गरेका थिए । यस्तै सरकारी निकायले चुनाव निष्पक्ष र सुरक्षित रहेको बताएको थियो । सो चुनावमा जो बाइडेनसँग ट्रम्प पराजित भएका हुन् ।
अनुसन्धान आयोग गठन गर्ने सम्बन्धी विधेयक माथिल्लो सदन सिनेटबाट पारित नहुनुमा सिनेटमा शीर्ष रिपब्लिकन मिच म्याकनलसहितको विरोध कारक बन्यो ।
न्यूयोर्क र वासिङ्गटनमा भएको ९÷११ को आतंकवादी आक्रमणकै जस्तै गरि संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने प्रस्ताव विधेयकमा थियो ।
त्यसका लागि १० सदस्यीय आयोग बन्ने, जसमा दुवै पार्टीका बराबर सदस्य रहने प्रस्ताव गरिएको थियो । सो आयोगले यो वर्षको अन्त्यसम्ममा भविष्यमा हुन सक्ने जनवरी ६ जस्तै आक्रमण रोक्नका लागि गर्नु पर्ने कामहरुबारे सुझाव दिने व्यवस्था प्रस्ताव गरिएको थियो ।
यसैबिच राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको आलोचना गरेका छन् । ओहायोको आइसक्रिम पार्लरको बाहिरबाट बाइडेनले बिहीबार भनेका छन्, ‘मलाई विश्वास लागेको छैन कि जनयुद्धपछि संसद भवनमा भएको अहिलेसम्मकै ठूलो आक्रमणको अनुसन्धानका लागि आयोग बनाउने प्रस्तावको विपक्षमा कसैले मतदान गर्न सक्छ ।’