बाबुरामले भने, ‘प्रधानमन्त्रीसँग भेटेकै हो, उहाँले नमानेपछि अरुलाई नभनेको हुँ’

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले भेट गरेको पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमार्फत डा. भट्टराराईले प्रधानमन्त्री ओलीसँग आफूले भेटवार्ता गरेको पुष्टि गरेका हुन्। तर भेटवार्ता भएकाे मिति र समयबारे उनले सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्री पद माग्दै पटक–पटक बाबुरामले ओलीसँग रातिराति भेट गरेको बालुवाटार निकट एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा दाबी गरेका थिए।

त्यसपछि डा. भट्टराईले आफू र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको स्वीकारेका हुन्। यसअघि डा. भट्टराई र प्रधानमन्त्री ओलीबीचको भेटबारे सार्वजनिक जानकारी दिइएको थिएन।

बस्नेतले पद माग्दै रातिराति भेट गरेको दाबी गरेपछि भने डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भेट भएको पुष्टि गरेका हुन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो। महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेकै हो। मैले वर्तमान–पूर्वप्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो। उहाँले नमानेपछि अरुलाई नभनेको हुँ। अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिन्छ। सोचौँ।’

यसअघि प्रधानमन्त्रीले डाक्ने सर्वदलीय बैठक लगायतका छलफलमा प्रतिगमनकारीसँग छलफल नगर्ने भन्दै भट्टराई उपस्थित हुने गरेका थिएनन्।