कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन, ७५० भन्दा बढी सङ्क्रमित

काठमाडौँमा बसेर विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ।

गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो।

वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यसको केही दिनमै उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गर्नु पर्ने भएको थियो। प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की खोजी समाचारप्रति निकै रुची राख्दै आएका थिए ।

च्यानल नेपाल टेलिभिजनमा केही वर्ष काम गरेका कार्की पछिल्लो समय जनताटाइम्स डटकमका सम्पादकका रुपमा कार्यरत थिए। उनले सौर्य दैनिकमा पनि सहसम्पादकका रुपमा काम गरेका थिए। प्रदेशखबर डटकम स्वर्गीय कार्कीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपाल पत्रकार महासघंका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्।

कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन्।