होम आइसोलेसनमै ज्यान गुमाउनेको संख्या बढ्यो, पाँच दिनमा १८ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालमा बेडको अभावसँगै काठमाडौँ उपत्यकाभित्र होम आइसोलेनमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाएका छन्। शनिबार एकै दिन ६ जनाले ज्यान गुमाएका थिए। आइतबार दुई जनाले ज्यान गुमाएको रिपोर्ट प्राप्त भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

बैशाख २४ गते ४ जना र त्यसभन्दा अघिल्ला दुई दिन लगातार ३ जनाले ज्यान गुमाएको उनले बताए। ‘ होम आइसोलेसनमा ज्यान गुमाउनेको संख्या बढिरहेका कारण प्राविधिक कठिनाई बढिरहेको छ,’ उनले भने।

‘होम आइसोलेसनमा ज्यान गुमाउनेको शव व्यवस्थापन गर्नुअघि वडा कार्यालय र प्रहरीले शव मुलुल्का गर्नुपर्छ। त्यसमा समय लाग्छ। त्यसैले हिजोआज पहिला कागजी प्रक्रिया पुरा गरेर मात्र हाम्रो शव व्यवस्थापन टोली त्यहाँ पुग्ने गरेको छ’, प्रवक्ता पौडेलले जानकारी दिए।

पछिल्लो समय कोरोना परीक्षण नभएका तर घरमा अचानक ज्यान गुमाउनेको कोरोना परीक्षण हुन छाडेको छ।

तर नेपाली सेनाले काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाएका ७६ जनाको शव व्यवस्थापनका लागि अनुरोध आएको जनाएको छ। यसैगरी सरकारले आइतबार पछिल्लो २४ घण्टामा ५२ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो। त्यसलाई केहीबेरमा सच्याएर मृतकको संख्या ८८ पुर्‍याइएको थियो।

नेपाली सेनाका अनुसार आइतबार मात्र काठमाडौँ उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाएका ५८ जनाको शव व्यवस्थापनका लागि अनुरोध आएको छ। सेनाले उपत्यकामा गत शुक्रबार ७३ जना, बिहिबार ५५ जना र बुधबार ४४ जनाको शव व्यवस्थापनका लागि अनुरोध आएको जनाएको छ।

सरकारले हालसम्म कोरोना संक्रमणबाट देशभर ३ हजार ७ सय २० जनाको ज्यान गएको बताएको छ। नेपाली सेनाले भने कोरोना संक्रमणका कारण ज्यान गुमाएका ४ हजार ९ सय ४ जनाको शव व्यवस्थापन गरेको जनाएको छ।