अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९१५ मा भएको अर्मेनियन्सहरुको हत्यालाई नरसंहारका रुपमा स्वीकार गरेका छन्।
बाइडेन पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसले सन् १९१५ को आमहत्यालाई नरसंहारका रुपमा स्वीकार गरि औपचारिक वक्तव्य जारी गरे।
टर्कीमा ओटोमन साम्राज्यको समयमा हत्या भएको थियो ।
यो विषय अति नै संवेशनशील रहँदै आएको छ। टर्कीले अत्याचार भएको स्वीकार गरे पनि त्यसलाई नरसंहार मानेको छैन।
अमेरिकाले औपचारिक रुपमा सो घटनालाई नरसंहार भनेपछि टर्की रुष्ट बनेको छ। टर्कीका विदेश मन्त्री मेच्लुत काभुसोग्लुले शनिबार अमेरिकाको निर्णय टर्कीले पूर्ण रुपमा खारेज गर्ने बताएका छन्।
उनले ट्वीट गरेका छन्, ‘हामी अरु कसैबाट हाम्रो इतिहासबारे शिक्षा लिने छैनौँ।’
त्यसपछि टर्कीको विदेश मन्त्रालयले अमेरिकी राजदूतलाई आफ्नो गम्भीर प्रतिक्रियाबारे जानकारी दिनका लागि ‘समन’ गरेको बताएको छ।
टर्कीसँगको सम्बन्धमा गम्भीर धक्का पुग्ने भन्दै अमेरिकाका पूर्व राष्ट्रपतिहरुले औपचारिक वक्तव्यमा नरसंहार शब्दको प्रयोग गरेका थिएनन्। नेटोमा टर्की पनि रहेकाले सम्बन्ध खराब हुन सक्ने चिन्ता पूर्व राष्ट्रपतिहरुले गरे पनि बाइडेनले भने औपचारिक वक्तव्य जारी गरेर सन् १९१५ को घटनालाई नरसंहार भनेका हुन्।
ओटोमन टर्क्सले रुसी सुरक्षा बलसँग नराम्रो हार बेहोरेपछि क्रिष्टियन अर्मेनियन्समाथि द्रोहको आरोप लगाएका थिए।
ओटोमनले अर्मेनियन्सहरुलाई सिरियन मरुभूमिसहितका स्थानमा पठाएका थिए। हजारौँ अर्मेनियन्सहरुको त्यसक्रममा हत्या भएको थियो भने भोक तथा रोगका कारण मरेका थिए।
प्रत्यक्षदर्शी पत्रकार, मिसिनरिज तथा कूटनीतिज्ञहरुले त्यसबेला अर्मेनियन्समाथि गम्भीर अत्याचार भएको देखेका थिए।
ज्यान गुमाएका अर्मेनियन्सहरुको संख्यालाई लिएर जहिले विवाद रहँदै आएको छ। अर्मेनियनहरुले झण्डै १५ लाख मानिसको ज्यान गएको बताउँछन्। तर टर्कीले भने त्यसबेला झण्डै तीन लाखको ज्यान गएको दाबी गर्छ।
इन्टरनेशनल एशोसिएशन अफ जिनोसाइड स्कलर्स (आइएजिएस) का अनुसार सो घटनामा ज्यान गुमाएको संख्या १० लाखको हाराहारीमा रहेको छ।

टर्कीले अत्याचार भएको स्वीकार गरे पनि क्रिष्टियन अर्मेनियनलाई सखाप पार्ने प्रयास स्वरुप रणनीतिक हत्या नभएको दाबी गर्छ। पहिलो विश्व युद्धका क्रममा धेरै टर्क्स मुस्लिमहरुको पनि ज्यान गएको टर्कीको भनाई छ।
अर्मेनियनहरुको आम हत्याको सुरुवात भएको समयको स्मरण दिवसलाई पारेर बाइडेनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ओटोमन कालमा भएको अर्मेनियन नरसंहारमा मारिएका सबैको स्मरण गर्न चाहन्छौँ र आउँदा दिनमा त्यस्तो खालको अत्याचार नगर्नका लागि हामी पुनः प्रतिबद्धता व्यक्त गर्छौँ।’
सन् २०१९ मा अमेरिकाको तल्लो सदनले आम हत्यालाई नरसंहारका रुपमा परिभाषित गर्ने पक्षमा अत्याधिक मत दिएको थियो।
बाइडेन अघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यसलाई नरसंहार मान्न नसकिने बताएका थिए।