६ वर्षअघिको भूकम्पको छैटौँ स्मृति दिवस मनाइँदै

६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि आइतबार मनाइँदैछ ।

यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरि ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क प्राधिकरणसँग छ ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरि १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरि १८ जिल्ला कम प्रभावित भएका थिए । गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये ६ लाख ३८ हजार ५४० घर पुनर्निर्माण भएका छन् ।

६ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचिमा समावेश भएर सम्झौता गरेका छन् ।

हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्ताबापत एक लाख रुपैयाँ लिएका छन् । घर सम्पन्न गरेर ६ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको एक लाख ५० हजार रुपैयाँ लिएका छन् ।

चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । निजी आवास पुनर्निर्माणका क्रममा ६ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।

जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनर्निर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनर्निर्माण भइरहेको जनाइएको छ ।