प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) को बैठक बस्दैछ ।
आजको बैठकले माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको स्रोतले जनाएको छ । माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।
सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ । कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन ।
एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।
अध्यक्ष ओलीले आइतबार बिहान १० बजेका बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको केन्द्रीय सदस्य मनोजजंग थापाले जानकारी दिएका छन् । बैठकको जानकारी सदस्यहरुलाई केही दिन अगाडिनैं दिइसकिएको थियो ।
यस अगाडि नेता माधवकुमार नेपाल पक्षका संघ र प्रदेशका ३२ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । त्यसको जवाफ सांसदहरुले गएको बिहीबार बुझाएका थिए । सोही परिवेशमा नेपाल पक्षका नेताहरुको जवाफलाई लिएर बैठक बोलाइएको थाहा लागेको छ । यद्यपी बैठकको एजेण्डावारे केही पनि खुलाईएको छैन ।