काठमाडौँ उपत्यकामा वायु प्रदूषण कायमै रहेकाले सावधानी अपनाउन र अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कन वातावरण तथा स्वास्थ्यविदले आग्रह गरेका छन् ।
शुक्रबार दिउँसोदेखि अत्याधिक मात्रामा धुवाँसहितको वायुका कारण काठमाडौँ उपत्यका धुम्मिएको थियो । अहिले पनि धुवाँ र कुहिरो छ ।
वायू प्रदूषण मापन गर्ने सूचकांकका काठमाडौँको प्रदूषण केही कम भएको देखिए पनि स्वस्थकर छैन ।
शुक्रबार विश्वकै प्रदूषित वायुयुक्त शहर बनेको काठमाडौँ अहिले तेस्रो नम्बरमा छ । वायु प्रदूषण मापन गर्ने आइक्यूएअर डट कमको प्रदूषित शहरको सूचिमा हाल तेस्रो नम्बरमा रहेको काठमाडौँको एअर क्वालिटी इन्डेक्स (वायुको गुणस्तर सूचांक) एक्यूआई १८८ छ ।
शुक्रबार पहिलो नम्बरमा पुग्दा काठमाडौँको एक्यूआई २७७ सम्म पुगेको थियो । हाल विश्वको सबैभन्दा प्रदूषित शहरको सूचिमा चीनको बेइजिङ्ग छ, जसको एक्यूआई २४२ पुगेको छ ।
यस्तै वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रका अनुसार पनि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वायुको गुणतस्तर कम रहेको छ ।
