ट्यांकीमा चढ्यो मेलम्चीको पानी, २ बजेपछि वितरण गरिने

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुरानो ट्याङकीमा मेलम्चीको पानी चढेको छ।

आइतबार बिहान १० बजे नै ट्याङकीमा पानी पुग्ने भनिए पनि केही ढिलो भएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले पुराना ट्याङकीमा मेलम्चीको पानी चढेको र दिउँसो २ बजे विशेष कार्यक्रम गरी वितरण गरिने जानकारी दिए।

पुरानै संरचनाबाट मेलम्चीको पानी वितरण गरिने उनले बताए। परीक्षण सफल भएपछि आयोजनाले धारामा पानी पठाउन लागेको हो।

उनले भने, ‘महांकाल चौर, मीनभवन, अनामनगर बाँसवारी, बालाजु र महाराजगन्जस्थित पानीपोखरीमा रहेका रिजभ ट्यांकीमा पानी जान्छ त्यसपछि हाम्रो प्लानिङअनुसार पानी वितरण सुरु हुन्छ।’

पानी वितरणका लागि खुमलटारको नयाँ पानी ट्याङकीको पनि प्रयोग गरिने उनले बताए।

पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने जानकारी दिए।

उनका अनुसार पुरानै पाइपलाइनका १ लाख ८० हजार धारा र नयाँ संरचनाका २० हजार धारामा पानी पठाइने छ।

उनले दुई चरणमा गरी १७ करोड लिटर पानी वितरण गरिने पनि बताए।