अमेरिकामा मे महिनाभित्र सबै वयस्कलाई खोप लगाइसकिने व्यवस्था: राष्ट्रपति बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालको पहिलो टेलिभिजन सम्बोधन गर्दै मे महिनाभित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने गरि आपूर्ति व्यवस्था मिलाइएको बताएका छन्।

उनले मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन योग्य बनाउन राज्य तथा स्थानीय निकायहरूलाई आदेश दिने बताएका छन्।

सबैलाई पालो आएपछि खोप लगाउन पनि उनले आह्वान गरे।

एक वर्षको सामूहिक क्षति र बलिदानपश्चात् अब देशका सामु राम्रा दिनहरू आएको उनले बताए।

जुलाई ४ को अमेरिकी स्वतन्त्रा दिवसको समयताका स-साना भेला गर्न सकिने सम्भावना बढेको पनि उनले बताए।

जो बाइडन
कोभिड राहत प्याकेजमा हस्ताक्षर गर्दै राष्ट्रपति बाइडन

कोरोनाभाइरसले अमेरिकामा पाँच लाखभन्दा धेरैको ज्यान लिइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्ध अनि भियतनाम युद्ध र सेप्टेम्बर ११ को हमलामा मारिएका कूल अमेरिकीको सङ्ख्याभन्दा यो धेरै हो।

यसअघि राष्ट्रपति बाइडनले १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत् अमेरिकाको मेरुदण्ड पुनर्निर्माण हुने तर्फ पहिलो पाइला चालिएको बताएका थिए।

उक्त प्याकेजबारेको कानुनमा हस्ताक्षर गरेपछि उनले उक्त टिप्पणी गरेका हुन्।

कोभिड राहत प्याकेजमार्फत् १४ सय डलरको प्रत्यक्ष नगद सहयोग यसै सप्ताहान्तदेखि नै बाँड्न थालिने बताइएको छ।

वर्षमा ७५ हजार डलरसम्म आम्दानी गर्ने प्रत्येक व्यक्तिले १४ सय डलर पाउनेछन्।

कर अधिकारीहरूले मानिसहरूको कर विवरण हेरेर व्यक्तिहरूलाई गरिने भुक्तानी निर्क्योल गर्नेछन्।

डोनल्ड ट्रम्पको पालामा दिइएको नगद सहयोगको बेला चेकमा ट्रम्पको हस्ताक्षर समेत रहेको थियो।

तर बाइडनले ती चेकमा आफ्नो हस्ताक्षर नराख्ने बताइएको छ।