नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद रेशम चौधरी लगायतविरुद्धका मुद्दा फिर्ता गर्ने जनता समाजवादी पार्टी (जसपा)का माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । जसपाका नेताहरूसँग पछिल्लो समय सत्ता साझेदारी लगायतका विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट वार्ताको अगुवाइ गरिरहेका नेम्वाङले बुधबार उक्त कुराको जानकारी दिएका हुन् ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेम्वाङले भने, ‘अहिले विशेषतः उहाँहरू रेशम चौधरी लगायत मधेस आन्दोलनको सन्दर्भमा भएका जुन मुद्दा, मामिला छन् त्यसको बारेमा उहाँहरू गम्भीर हुनुहुन्छ । त्यसलाई फिर्ता गर्नुपर्यो, रिहाइ गर्नुपर्यो भनेर उहाँहरूले माग गरिराख्नुभएको छ । त्यसबारेमा सरकार सकारात्मक छ । सरकार गम्भीर छ भनेर हामीले भनेका छौं ।’
जसपासँग निरन्तर छलफल चलिरहेको पनि नेम्वाङले जानकारी दिए । ‘जसपासँग हामी निरन्तर कुराकानीमा छौं । तपाईंहरूको लागि आजै पनि यता आउनुभन्दा अगाडि उहाँहरूसँग छलफल भएको थियो । र, जसपाको माग पूरा गर्न सदासर्वदा सरकार सकारात्मक नै हो । अहिले पनि त्यसबारेमा सरकार सकारात्मक छ,’ नेम्वाङले भने ।











