विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास भएको विषयमा अमेरिकाले रुसका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।
नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको निष्कर्ष गुप्तचर निकायको रहेको अमेरिकाले बताएको छ ।
नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको हो ।
नाभाल्नीमाथि भएको आक्रमणले रुसले रसायनिक हतियारको प्रयोग गर्ने गम्भीर क्रमलाई देखाएको र त्यो चिन्ताजनक रहेको एक अमेरिकी अधिकारीले बताएको डेलीमेलले समाचार लेखेको छ ।
यसअघि सन् २०१८ मा रुसी निर्वासित एजेन्ट तथा उनकी छोरीमाथि पनि इंग्ल्याण्डको सलिस्बरीमा विष आक्रमण भएको थियो । अमेरिकाले लगाएको प्रतिबन्ध अनुसार प्रतिबन्ध लागेका अधिकारीको अमेरिकामा रहेको सम्पती फ्रिज भएको छ ।
प्रतिबन्ध लाग्नेमा रुसको शीर्ष गुप्तचर निकाय एफएसबीका प्रमुख एलेक्जान्डर बार्ट्निकोभ तथा रक्षा उपमन्त्री एलेक्सी क्रिभोरोच्को र पावेल पोपाभ रहेका छन् । नाभाल्नीलाई हाल रुस सरकारले जेलमा राखेकाे छ ।
राष्ट्रपति जो बाइडेन प्रशासनले रुसमाथि लगाएको यो पहिलो प्रतिबन्ध हो । बाइडेनले यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा रुसप्रति कडा नीति लिएका छन् ।