रेसुंगा ३ गुल्मीकी सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भइन्। ३० गते उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी दिए।
उजुरीपछि श्रीमान नेत्रबहादुर खत्री र सासु टोमकला खत्रीलाई प्रहरीले पक्रेर थुन्यो। प्रहरी नियन्त्रणमै रहेको बेला सासु खत्रीले २९ गते राति तीनजना आएर सम्झनालाई लिएर गएको बयान दिइन्। प्रहरीका अनुसार उनले आफू र १४ महिनाका नातीलाई थुनेर ती तीनजनाले सम्झनालाई लिएर गएका थिए।
फागुन १ मा प्रहरीले सोधपुछ गरेर टोमकलालाई घर पठायो। घर गएकै राति उनले आत्महत्या गरिन्।
उनले आत्महत्या गरेपछि सम्झनाका माइती पक्ष र घर पक्षबिच आक्रोश बढ्यो र प्रहरी कार्यालय घेराउदेखि धर्नासम्मका दबाबमूलक कार्यक्रम भए।
त्यसपछि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सम्झनाका बाबुआमा र जेठीआमालाई नियन्त्रणमा लियो।
दुवैपक्षको तीव्र दबाब र आन्दोलनपछि प्रहरीले घटनाको निचोड निकाल्न सकेन। बेपत्ता भएका १९ दिनसम्म भएका आन्दोलन र धर्नासम्म पनि सम्झनाको अत्तोपत्तो थिएन। १९ दिनमा उनी मृत फेला परेको खबर प्रहरीले पायो र घटनाले अर्को मोड लिएको छ।
क्षतविक्षत अवस्थामा सम्झनाको शव फेला परेपछि प्रहरी उनको हत्याराको खोजीमा लागेको छ भने आत्महत्या गरेकी टोमकलाको मृत्युको कारण सम्झनाका माइतीपक्ष रहेको भन्दै उनका पक्षले अर्को दबाब दिइरहेका छन्।
घरबाट करिब डेढ सय मिटर तल बारीको कुनामा बोरामा राखेर हातखुट्टा बाँधेको अवस्थामा विक्षिप्त अवस्थामा सम्झनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयका अनुसार अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान माइती पक्षले राखेपछि मंगलबार दिउँसो मात्रै घटनास्थलबाट शव उठेको छ। घटनाको मुचुल्का उठाउने र पोष्टमार्टम गर्ने सहमति अनुसार शव गुल्मी अस्पताल तम्घासको शवगृहमा राखिएको पाण्डेयले बताए।
सम्झनाका माइती पक्षले शवको पोष्टमार्टम गरेर अनुसन्धानमा सहयोग गर्ने, अपराधी सार्वजनिक नगरेसम्म शव नबुझ्ने, आफूहरुलाई झुट्टा मुद्धा लगाउने विरुद्ध कानूनी उपचार खोज्ने, १४ महिने बालकको पालन पोषणको ग्यारेण्टी हुनुपर्ने माग राखेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख पाण्डेयले घटनामा धेरै पक्षहरु जोडिएको र दुईजनाको मृत्यु भएकाले गम्भीर हिसाबले अध्ययन जारी रहेको बताए। उनले केहीदिनभित्रमै घटनामा संलग्नहरु सार्वजनिक गर्ने गरी प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको बताए।