कोरोना भाइरसको त्रास रहेको समय जनकपुरधाममा दुई महिलाले सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन्।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ महावीर चोकमा दुई महिलाले सडक र पसलको छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासीमा त्रास आएको छ।
शुक्रवार दिउँसो दुईजनाको समूहमा रहेको महिलाहरुले १० रुपैयाँको नोट छरेर भागेकी स्थानीयवासीहरुको भनाई छ।
निलो र हरियो रंगको साडी लगाएकी उनीहरुले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्याँकेको त्यहाँका स्थानीयवासीहरुले बताएका छन् ।
सडकमा पैसा फयाकेको देखेपछि किन फ्यालेको सोध्दा दुवैजना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयवासीहरुले बताए।
सडकमा फैला फयाकेको देखेर त्रसित भएका स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि सडकमा फ्यालिएका रुपैयाँका केही नोटहरु प्रहरीले नियन्त्रणमा लिएको र त्यस क्षेत्रलाई सेनेटाइज गरेका छन्।
सडकमा रुपैयाँ फ्याक्ने दुबै महिलाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। साथै स्थानीयवासीले दिएको सूचनाको आधारमा रुपैयाँ उठाउने व्यक्तिहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले नजिकै रहेको एक घरमा सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।