प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतको आक्रोश : पत्रकार महासंघको नेतृत्व आफू काँक्रो खाने, बियाँ अरूतिर टाँसेर अभियुक्त करार गर्ने काम गर्यो

default

काठमाडौं: प्रेस चौतारी नेपाल केन्द्रीय अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महांघको निर्वाचन हुननसक्नुको कारण महासंघका पदाधिकारीको गैरजिम्मेवार ब्यवहार र सक्रिय पत्रकार फ़ाल्ने आपराधिक गतिविधि जिम्मेवार रहेको बताउनुभएको छ ।

महासंघको निर्वाचन हुन नसक्नुको कारण बारे प्रष्ट पार्दै बस्नेतले काँक्रो आफू खाने अनि बियाँ अरूको निधारमा टाँसेर अभियुक्त करार गर्ने प्रवृत्तिको कारण अहिलेको अवस्था आएको बस्नेतले बताउनुभयो । सत्कर्मबाहेक सबै गर्ने तर आफूलाई नयाँ भन्नेहरूले चलाएको मन्द विष यतिबेला सबैतिर फैलिएको बस्नेतको भनाइ छ । नेपाल पत्रकार महासंघको नेतृत्व पनि यही काममा लागेको बस्नेतले बताउनुभयो ।

‘पत्रकारिताबाहेकका सबै पेसा व्यवसाय गर्नेहरूलाई आफै सदस्य बनाउने र पत्रकारिता गरिरहेका बाइलाइन पत्रकारलाई छानी छानी फाल्ने अभियान चलाएका अध्यक्ष, कार्यवाहक अध्यक्षले नै आफ्नो अपराध भण्डाफोर भएपछि संगठनतिर आरोप लगाएर आफू काँक्रो खाने अनि बियाँ अरूतिर टाँसेर अभियुक्त करार गर्ने काम गर्नुभएछ’, उहाँले भन्नुभयो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजनीतिक दल आबद्ध पत्रकारका संगठनले पत्रकार महासंघको विधि, विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमुना भएको भन्दै राजीनामा दिनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बस्नेतले बताउनुभयो ।

‘कसैसँग सल्लाहसमेत नगरी बन्द कोठाबाट असोज ५ को निर्वाचन रोकेर असोज १२ गते तोक्नुभएका प्रिय राजीनामा बाहक कार्यवाहक मित्र, गैर पत्रकार पहिचान भइसकेपछि तपाईँले किन सदस्य कायम राखिराख्नु भयो ? हटाउन कसले रोक्यो ? त्यो साढे ४ सयभित्र प्रेस चौतारी नेपालले सिफारिस गरेको एक जना पनि छन् ? छन् भने कृपया नाम सार्वजनिक गरिदिनोस्, हामी सार्वजनिक रूपमा माफी मागेर आफैँ हटाउन लाग्छौँ’, बस्नेतले भन्नुभयो ।

‘पत्रकारिताबाहेक सबै पेसा व्यवसाय गर्नेलाई तपाईँहरू सदस्य बनाउने, पत्रकारिता गर्नेलाई छानी छानी फाल्ने, अनि तपाईँहरू नै हामीलाई आरोप लगाउने ? यति तल्लो स्तरको छलछाम पनि गर्न मिल्छ र मित्रहरू ?’ भन्दै बस्नेतले भन्नुभयो— ‘तपाईँले भनेको साढे ४ सय तपाई आफैले थपेको होइनन् र ? आफैले थपेको नभए हटाएर चुनाव गराउनु हुन्थ्यो नि ।’

अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालका जिल्लामा पत्रकारका रूपमा स्थापित रहेका र मिडियामा कार्यरत ७ सय ९१ जना बाइलाइन पत्रकारलाई आस्थाकै आधारमा सदस्यबाट हटाइएको बस्नेतले बताउनुभयो । ‘आफूलाई भोट हाल्दैन भनेर नै तपाई अध्यक्ष–कार्यवाहक अध्यक्षहरूले कत्लेआम गरेको होइन र ? तपाईँले हतियार उठाउनु भयो, अब हामी पनि जवाफ फर्काउन बाध्य भयौँ, आउनोस् तथ्यमा जमेर बहस गरौँ को इमानदार, को बेइमान हो ?’, उहाँले भन्नुभयो ।

अब संगठन उस्तै हुन् र गैरपत्रकार हाल्ने प्रतिस्पर्धा गरे भन्ने कुरा सहेर प्रेस चौतारी नेपाल नबस्ने उहाँले स्पष्ट पार्नुभयो । ‘प्रेस चौतारी बाइलाइन पत्रकारको पक्षमा छ, बाइलाइनबाहेक दाइलाइन, दिदीलाइन, ठेकेदारीलाइन, गाडीलाइन, साइडलाइन पत्रकारको पक्षमा किमार्थ छैन, आक्षेप लगाउन त सिपालु हुनुहुँदो रहेछ मित्र, अब तपाईँले भनेको त्यो सूची सार्वजनिक गर्नोस्’, अध्यक्ष बस्नेतले भन्नुभयो । नेपाल पत्रकार महासंघको गत चैत महिनामा नै हुनु पर्ने निर्वाचन सदस्यता विवादको कारण रोकिँदै आएको छ । सोही विवाद समाधान गर्न नसक्दा अध्यक्ष विपुल पोखरेलले राजीनामा दिनुभयो ।

पोखरेललाई राजीनामा दिन बाध्य पार्ने विष्ट कार्यवाहक अध्यक्ष बन्नुभयो र भदौ ४ का लागि तोकिएको निर्वाचन भदौ १२ गतेलाई सार्नुभयो । तर उहाँले पनि मनोनयन दर्ता गर्ने दिन विभिन्न संगठनहरुलाई आरोप लगाउँदै राजीनामा दिनुभयो । अहिले वैधानिक रूपमा महासंघको नेतृत्व अवैध भइसकेको छ भने निर्वाचन पनि अनिश्चित बनेको छ ।