कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलका आदिवासी समुदाय नैं ‘सखाप हुन सक्ने’

ब्रजिलको अमेजन वर्षावन क्षेत्रको नदी बगर क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदाय

कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्।

इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ।

ब्रजिलमा हजारौँ व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ र कोभिड-१९ का सयौँको सङ्ख्यामा मानिसको मृत्यु भएको छ।

सुरुमा साओपाओलो जस्ता औद्योगिक प्रान्तमा सङ्क्रमण फैलिएको थियो।

ब्रजिलको अमेजन वर्षावन क्षेत्रको नदी बगर क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायका प्रमुख

तर अहिले त्यो भाइरस फ्रान्स र स्पेनका भूभाग जोड्दा बन्ने क्षेत्रजत्रो आकारको विशाल अमेजन नदीवरपर अवस्थित क्षेत्र तथा पूरै देशमा फैलिसकेको छ।

अमेजोनास राज्यका आदिवासीमा समेत भाइरस सङक्रमण पाइसकिएको छ।

साओपाओलोको फेडेरल विश्वविद्यालकी अनुसन्धानकर्ता डा. सोफिया मेन्डोन्सा भन्छिन्, “अब अहिले यो भाइरस त्यहाँका आदिवासी समुदायमा फैलिएर उनीहरू सबैलाई सखाप पारिदिन सक्ने अविश्वसनीय जोखिम देखा परेको छ।”

मेन्डोन्साले अमेजनको वर्षावन क्षेत्रको सिङ्गु नदीनजिकै बसोबास गर्ने आदिवासी मानिससँग सम्बन्धित विश्वविद्यालयको स्वास्थ्य परियोजनाको संयोजन गरिरहेकी छन्।

कोरोनाभाइरसले पनि ब्रजिलका आदिवासी समुदायमा श्वासप्रश्वाससँग सम्बन्धित दादुरा र अन्य सङ्क्रामक रोगले पारेका जस्तै प्रभाव पार्छ कि भन्ने उनको चिन्ता छ। सन् १९६०को दशकमा भेनेजुएलाको सीमानजिकै बसोबास गर्ने यानोमानी समुदायमा दादुराको प्रकोप फैलिँदा सङ्क्रमितहरूमध्ये नौ प्रतिशत मानिसको ज्यान गएको थियो।

“यदि सबै जना बिरामी परे भने सबै पाका मानिसहरूको ज्यान जान्छ र त्यो सँगै उनीहरूको ज्ञान र सामाजिक सङ्गठन पनि नाश हुन जान्छ,” मेन्डोन्सा भन्छिन्।

अहिले कोभिड-१९को महामारी चलिरहेको बेला त्यहाँका केही समुदायहरू ससाना एकाइमा टुक्रिँदै वनमा छरिएर बस्न थालेको उनी बताउँछिन्। विगतका महामारीका बेलामा पनि उनीहरू त्यसैगरी छरिएर लोप हुनबाट बचेका थिए।

“परिस्थिति सामान्य नहुन्जेलसम्म उनीहरुले त्यहाँ सिकार गर्न, माछा मार्न र शिविरहरू स्थापना गर्न आवश्यक सामग्री जुटाउने गर्छन्,” उनी भन्छिन्। जुअ फेलेट, बीबीसी ब्रजिलको सहयोगमा तयार पारिएको हो ।