स्थानीय सरकारले नागरिकहरुलाई घरभित्रै बस्न अपील गरिरहेका बेला सिन्धुली सदरमुकममा रहेको बैंकहरुमा मासिक तलब तथा पेन्सन लिन आउनेहरुको ठूलो भिड देखिन थालेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी र जिल्लामा सामान ओसार पसारमासमेत पूर्ण रोक लगाएका बेला २ घण्टाका लागि खोलिएका बैंकहरुमा नागरिकको भीड डरलाग्दो रुपमा देखिएको स्थानीय एक व्यवसायीले बताए । बैंकहरु दैनिक रुपमा थोरै समय खोलिए यस्तो भिडभाड नहुने र जोखिम पनि कम हुने अर्का व्यवसायी मदनकुमार बैदारले बताए ।
सिन्धुलीमा सरकारी तथा निजी क्षेत्रका बैंकहरुले हप्तामा एक पटक खोलेर आफ्ना ग्राहकहरुलाई सेवा दिंदै आएका छन् । तर त्यसरी सेवा प्रबाह गर्दा सर्वसाधारणको भिडभाडवारे स्थानीय प्रशासन बेखबरझैं भएको छ । एक बैंकर्सका अनुसार स्थानीय प्रसानकै आदेशमा बैंकहरुलाई पालो लगाएर थोरै समय खोल्न लगाइएको हो ।

राष्ट्रिय बाणिंज्य बैंक सिन्धुलीका निमित्त प्रमुख विनोद ओझाका अनुसार बैंकले प्रवेशद्धारमा हात धुने व्यवस्था मिलाएको र संभावित जोखिमलाई ध्यान दिंदै बैंक भित्र एक एक जनागरी प्रवेश गराएको जानकारी दिए ।

बैंकले कार्यालय भित्रको अबस्थालाई बढी ध्यान दिने हो, अब बाहिर त संबन्धित व्यक्तिलेनैं आफ्नो सुरक्षा र सजगता अपनाउने उनको भनाई थियो । ‘हामी पनि कोरोना संक्रमणको त्रासमा छौं, तर त्यसो भनेर सरकारले दिएको जिम्मेवारीबाट भाग्ने होइन, संकटका बेला काम गरेर देखाउने हो’ ओझाले भने ।
यस्तो बेलामा काम गर्नेहरुले आफ्नो सुरक्षालाई बढी ध्यान दिनुपर्ने र स्थानीय प्रशासनले चाहेका बेला हामीहरुले सेवा प्रबाह गरिरहेको बताउँदै निमित्त प्रमुख ओझाले लक डाउनको अवधीमा एकै दिन चार करोडसम्म भुक्तानी दिएको अनुभवसमेत सुनाए । लक डाउन अगाडि जसरी कारोवार भइरहेको थियो, तुलनात्मक रुपमा कारोवारमा खासै प्रभाव नपरेको उनको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रवक्ता उपेन्द्र न्यौपानेले बैंकहरुमा सेवाग्राहीहरुको भिड बढेको र संकटका बेला सेवा ग्राहीका तर्फबाट पालना गर्नु पर्ने न्यूनतम् मापदण्ड पनि पुरा नगरेको सूचना आफुले पाएको बताउँदै भोलीबाट त्यस प्रकारको भिडभाड अन्त्य गरिने जानकारी दिए ।